विगतको अनुदान बालुवामा पानीजस्तै भयो, यसपटक सिधै किसानको हातमा दिन्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् ।

२६ जेठ, काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् ।
शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्रीले भने, ‘‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने। तर, तिनीहरूको सही सदुपयोग हुन सकेन। जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो। त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो। विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ।’
‘‘विशिष्ट परिस्थितिमा गुज्रिएर नेपाल फर्किएका साथीहरूको पहलमा यो भेला हुँदैछ, यसले संगठनको काम मात्र गर्ने छैन, विदेशबाट फर्किएको जनशक्ति, पुँजी र सीपलाई एकीकृत रूपमा परिचालन गर्ने नीति र योजना पनि बनाउने छ’’ प्रधानमन्त्रीले भने ‘‘प्रकृतिले दिएको साधन स्रोतका दृष्टिले हामी गरिब छैनौं हामी धेरै धनी छौँ। हामीसँग जमिन, जंगल, हिमाल, जडीबुटी, जलविद्युतको उत्पादन र सदुपयोगमार्फत् निर्यातमुखी अर्थतन्त्रको विकास गर्नसक्ने प्रचुर सम्भावना छ । तर, त्यसको सही सदुपयोग गर्नुपर्ने चुनौती हाम्रासामु छ।’’

‘‘नेपालको इतिहास र वर्तमान गौरवशाली छ। वीरता र बलिदानीमा हामी अब्बल छौँ। आध्यात्मिक चिन्तन र सांस्कृतिक विविधतामा हामी जति धनी कोही छैन’’ प्रधानमन्त्रीले भने ‘‘४० वर्षअघि खाद्यान्न निर्यात गर्ने हामी किन गरिब भयौँ । हामीले विगतभन्दा राम्रो पढ्यौँ, राम्रो ज्ञान पनि आर्जन गर्‍यौँ। तर, हाम्रो श्रम संस्कृति कमजोर हुँदै गयो। हामी परनिर्भर हुँदै गयौँ। हामीले यसको गहिरो समीक्षा गर्न जरूरी छ। श्रम र मेहेनतबिना संसारको कुनै पनि मुलुक बन्दैन र बनेको पनि छैन। त्यतातर्फ हामी सबैको ध्यान जान आवश्यक छ।’’ ‘‘यसपटक विगतभन्दा फरक ढंगले काम गरिरहेको छु। विगतभन्दा फरक, तत्परताका साथ काम गरिरहेको छु। सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ। हामीकहाँ भएको फोहोरको थुप्रै सफा गर्नु छ । नक्कली भुटानी शरणार्थी प्रकरण एउटा उदाहरण मात्रै हो, यस्ता थुप्रै बेथिति छन्, तिनीहरू पनि नियन्त्रण गर्नु छ । हामी यसमा दृढतापूर्वक अगाडि बढ्छौँ।’’ उनले भने ।

प्रतिक्रिया