जुगलको एक वर्ष : पालिका भित्रका पाँच हिमाल आरोहणको अनुमतिसहित पर्यटनमा महत्वपूर्ण उपलब्धि, १ करोड ७१ लाख राजश्व संकलन, पुँजीगत खर्च ४३ प्रतिशत

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले पर्यटन क्षेत्रमा महत्वपूर्ण उपलब्धिसहितको एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ ।

३१ जेठ, सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिकाले पर्यटन क्षेत्रमा महत्वपूर्ण उपलब्धिसहितको एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ ।
पालिकाले बुधबार चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको हलमा आर्थिक वर्ष २०७९/८० को वार्षिक उपलब्धि सार्वजनिक गर्न सार्वजनिक सुनुवाई आयोजना गरेको थियो । कार्यक्रममा प्रस्तुत गरिएको विवरण अनुसार यस वर्ष पालिका भित्र पर्ने जुगल हिमश्रृंखला अन्तर्गतका भिन्न चुचुराहरु मध्ये पाँचवटा नयाँ हिम चुचुराहरुको आरोहण अनुमति प्राप्त भएको छ । काठमडौंबाट देखिने र दुरीका हिसाबले सबैभन्दा नजिकको हिमालहरु जुगल गाउँपालिकामा पर्दछ । पाँच वर्षअघि जुगल हिमालको एउटा मात्रै चुचुरो खुल्ला गरि आरोहणसमेत सफल भएपछि पालिकाले थप चुचुराहरु आरोहण अनुमतिका लागि प्रक्रिया अघि बढाएको थियो । क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’ को नेतृत्वमा पालिकाका अध्यक्ष रेशम स्याङ्बोसहितका अधिकारीहरुले पर्यटन मन्त्रालय र सम्बन्धीत पक्षसँग छलफल गरेपछि नयाँ पाँच चुचुराहरुको आरोहण अनुमति प्राप्त भएको थियो ।


यस्तै गाउँपालिकाले यसै आर्थिक वर्षमा नेपेमाछल क्षेत्रको प्रर्बद्धनका लागि बैशाख २ गते निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, संघीय सांसद माधव सापकोटा, धर्म गुरुहरु, बागमती प्रदेश सांसद सरल सहयात्रीसहित सम्बन्धित निकायका प्रतिनिधिहरुको सहभागीतामा ऐतिहासिक नेपेमाछल प्रर्बद्धन कार्यक्रम गरेको छ । बौद्ध धर्मावलम्बीहरुको ग्रन्थमा संसारकै सुन्दर र सुरक्षीत भनेर उल्लेख गरिएको नेपेमाछल क्षेत्र जुगल हिमालको आधार शिविर नजिकै रहेको, हिमालले घेरिएको सुन्दर क्षेत्र हो । पालिकाले यसै वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणका लागि ‘गन्तव्य जुगल’ सम्बन्धी वृत्तचित्र सार्वजनिक गरेको जानकारी दिएको छ ।
जुगल गाउँपालिकाले एक वर्षमा १ करोड ७१ लाख राजश्व संकलन गरेको छ भने चालुतर्फ ६९ प्रतिशत र पुँजीगत खर्च ४३ प्रतिशत खर्च गरेको छ ।


“सामाजिक न्यायसहितको समृद्ध जुगल” नारा दिएको पालिकाले सुशासन तथा सार्वजनिक सेवा प्रवाह, शिक्षा, युवा तथा खेलकूद, कृषि विकास, पशुसेवा, भौतिक पूर्वाधार, योजना तथा कार्यक्रम, पर्यटन, श्रम बैंक, अध्यक्ष शैक्षिक कोष संचालन, जीवन बिमा, संचार तथा सूचना प्रविधि, कानुन निर्माण, जलविद्युत, औधोगिक ग्राम, विपद् व्यवस्थापन, महिला, बालबालिका, जेष्ठ नागरिक तथा लक्षित वर्ग, न्यायिक स्वास्थ्य, श्रम तथा रोजगार, सामाजिक सुरक्षा तथा पञ्जिकरण, उद्यम विकास, राजश्व शाखाको र वित्तीय प्रगतिका क्षेत्रमा वर्षभर गरेका कामको सूचि तयार गरी सार्वजनिक गरेको हो ।


जुगल गाउँपालिकाको २०७९ श्रावण देखि २०८० जेठ ३० गतेसम्मको प्रगति विवरण सार्वजनिक कार्यक्रममा जुगल गाउँपालकका अध्यक्ष रेशम स्याङ्बो, उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, कर्मचारीहरु, सञ्चारकर्मीहरु र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा अध्यक्ष स्याङ्बोले कार्यक्रमको उदेश्यबारे जानकारी गराएका थिए भने अन्तिममा सहभागिहरुबाट आएका जिज्ञासाको जवाफ दिएका थिए । सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले देशभरका जनप्रतिनिधि र कर्मचारीले ‘प्रेसर’मा काम गर्नुे परेकोले आयु समेत कम हुने गरेको विषय आफू गृह मन्त्रालय बस्दा थाहा पाएको जानकारी दिएकी थिइन । मिलन तामाङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सञ्चालन गरेका थिए ।

प्रतिक्रिया