बजेटले संघीयताको मूल मर्मलाई आत्मसात् गर्न सकेन : सांसद सापकोटा

प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुबोध'ले बजेटले संघीयताको मूल मर्मलाई दह्रोसँग आत्मसात गर्न नसकेको टिप्पणी गरेका छन् ।

३२ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले बजेटले संघीयताको मूल मर्मलाई दह्रोसँग आत्मसात गर्न नसकेको टिप्पणी गरेका छन् ।
विहिबार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा भाग लिंदै सांसद सापकोटाले यस्तो टिप्पणी गरेका हुन् । नीति कार्यक्रमसम्म ठिकै लय समातेको भएपनि बजेटसम्म आइपुग्दा लय विगारेको उनको भनाई थियो । ‘बजेट निर्माणका क्रममा नीति कार्यक्रमलाई आत्मसात गर्न सकेको छैन, बरालिएको छ, लय विगारेको छ र यसले मूलतः संघीयताको मर्मलाई दह्रोसँग आत्मासात गर्न सकेको छैन र समाउन सकेको छैन’ उनले भने । साना साना बजेट समेत माथिबाट विनियोजन गर्ने, माथिबाटै पाँच लाखका, तीन लाखका योजनाहरु बाँड्ने, अझ एक लाख सम्मका योजनाहरु हाल्ने विषयमा उनको असन्तुष्टि थियो ।
बजेटको वर्तमान प्रणालीमा सुधार गर्नु पर्ने उनको धारणा थियो । ठूलो मात्रामा विदेशबाट काठ आयात भइरहेको विषयमा पनि उनले असन्तुष्टि जनाएका छन् । वन तथा वातावरण मन्त्रालयले संरक्षणका क्षेत्रमा अन्तराष्ट्रिय मञ्चहरुमा विषय उठाउनु पर्ने धारणा राखे । वनको संरक्षण मात्रै नभएर बैज्ञानिक व्यवस्थापन गर्नु पर्ने उनको भनाई थियो । वनको लाभ हानी सर्बसाधारण नागरिकसम्म पुग्नु पर्ने जनताको जीवनस्तरसँग जोडिनु पर्ने सांसद सापकोटाको तर्क छ । सांसद सापकोटाले बाँदरका कारण धेरै समस्या भएकोतर्फ ध्यानाकर्षण गराउँदै समाधान गर्न बाँदरका बारेमा गम्भीरतापूर्वक अध्ययन गर्न प्रतिवेदन बुझाउने गरी समिति बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया