८ असार, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि अनुमानित आयव्ययको विवरण प्रस्तुत गरेको छ । नगरपालिकाको सभा हलमा आज आयोजित १४ औं नगरसभामा नगर उपप्रमुख सीता थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गरेकी हुन् । उनले १ अर्ब २४ करोड ५२ लाख को बजेट पेश गरेकी हुन् ।
उनले संघीय सरकार तथा प्रदेश सरकारबाट कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको हुँदा नगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताइन् । पालिकाले कृषि क्षेत्रका लागि ३ करोड ५० लाख विनियोजन गरेको छ । यस्तै पशु विकास सेवाका लागि १ करोड ५० लाख र रोजगार सिर्जनाका लागि १ करोड ५० लाख विनियोजन गरेको छ । स्वास्थ्य तर्फ ३ करोड, शिक्षा, युवा तथा खेलकुद तर्फ ४ करोड ७० लाख, नगर गौरवका योजनाका लागि १ करोड, संघ समपुरक अनुदानका लागि संघबाट प्राप्त हुने समेत १ करोड ६० लाख विनियोजन गरेको छ ।
नगरपालिका भित्रका जुनसुकै कारणले मृत्यु भएका मृतकको परिवारलाई प्रति परिवार ५ हजारका दरले जम्मा ३० लाख बजेट विनियोजन गरेको छ । पूर्वाधार तर्फ सिंचाई, खानेपानी तथा सरसफाई समेतलाई गरी ८ करोड र लक्षित वर्गका लागि १ करोड ७० लाख बजेट विनियोजन भएको छ । नगरको विभिन्न क्षेत्रमा पूर्वाधार विकासको लागि नगर पूर्वाधार विकास तर्फ १ करोड, विभिन्न साझेदार संस्थाहरुसँग साझेदारी गर्नका लागि २ करोड बजेट विनियोजन भएको छ । नगरले प्रत्येक वडाका लागि ८५ लाखका दरले ११ करोड ९० लाख रकम छुट्याएको छ ।