लिसंखु पाखरले ल्यायो ५१ करोड ९६ लाखको बजेट, मुडेको आलु ‘ब्राण्डिङ’ गरिने, यहि वर्ष लगानी सम्मेलनको तयारी

जिल्लाको लिसंखु पाखर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोड ९६ लाखको बजेट ल्याएको छ ।

१० असार, सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोड ९६ लाखको बजेट ल्याएको छ । आइतबार बसेको गाउँ सभाको १३ औं अधिवेशनबाट आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट स्वीकृत भएको हो ।

गाउँ सभामा नीति तथा कार्यक्रम सभाध्यक्ष राजु लामाले प्रस्तुत गरेका थिए भने बजेट वक्तव्य उपाध्यक्ष मिठु देवि लामाले प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि चालु तर्फ ३२ करोड ४९ लाख ८५ हजार ५ सय, ( ६७.१५ प्रतिशत ) र पुँजीगत तर्फ १८ करोड ८६ लाख ९८ हजार ८०५ (३२.९५ प्रतिशत) बजेट पेश गरेकी हुन् । सभाले नीति तथा कार्यक्रम र सो बजेट पारित गरेको छ ।

कार्यक्रममा गाउँ पालिका अध्यक्ष एवं सभाका अध्यक्ष राजु लामाले मुडेको आलु ‘ब्राण्डिङ’ गर्ने र यस बर्ष लगानी सम्मेलन गर्ने बताए । सभाका सदस्य सचिव एवं गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर बिष्टले सभाको आचारसंहिता जानकारी गराएका थिए । लिसंखु पाखरको यस वर्षको बजेट नीति तथा कार्यक्रमले विशेष गरी गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषिको व्यवसायीकरण, आधुनिकिकरण, बजारीकरण, रोजगारीको सृजना, स्वरोजगार र उधमशिलताको विकासमा जोड दिएको छ । यस्तै सामाजिक सुरक्षा र संरक्षण, महिला तथा बालबालिकाको शसक्तिकरण, लैंगीक समानता तथा गाउँपालिकाको सर्वाङर्गीण विकास र समृद्दीका विषय समेटिएका छन् ।

आगामी वर्षको मुख्य कार्यक्रमहरुमा सहिद तथा वेपता योद्धाका परिवार र दन्द्ध पीडित व्यक्तिको सामाजिक उत्थान र सम्मान कार्यक्रम, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, गाउँपालिकासंग जनता रेडियो कार्यक्रम, डिजिटल गाउँपालिका निर्माण अभियान, वित्तिय सुशासन अभियान, पढ्दै कमाउदै कार्यक्रम, लगानी सम्मेलन, गाउँपालिकासंग किसान कार्यक्रम रहेका छन् । यस्तै पालिकाले चुलिडाडा जिपलाइन सम्भावना अध्ययन गर्ने भएको छ भने कम्तिमा ३ वटा ‘नमुना समाजवादी गाउँ र टोल’ निर्माण गर्ने जनाएको छ ।

कर्मचारी र राम्रो काम गर्ने पाँच उपभोक्ता समिति सम्मानित


गाउँपालिकले सभाबाट राम्रो काम गर्ने ५ वटा उपभोक्ता समितिलाई सम्मान गरेको छ । सम्मानित हुने उपभोक्ता समितिहरुमा सेति देवि महिला भवन मर्मत वडा नं ७, सांखोर छ्योर्तेन स्तरोन्नति वडा नं ३, नेवार समुदाय ज्योव खोला गोरेटोबाटो निर्माण तथा स्तरोन्नति वडा नं ७, बन्दन खानेपानी वडा नं ६ र मेसिपा ठकुरी टोल सडक मर्मत समिति रहेका छन् । यस्तै सबैभन्दा छिटो काम सम्पन्न गर्ने वडाअध्यक्ष र वडा प्राविधिकलाई पनि सम्मान गरिएको छ । पालिकाको वडा नं ४ का वडाध्यक्ष भक्तलाल शाक्य, वडा प्राविधिक आशिकि लामा र गाउँपालिकालाई सबैभन्दा बढी कर तिर्ने करदाता हरि श्रेष्ठ सम्मानित भएका छन् । राजश्व शाखा प्रमुख कृष्ण योञ्जनलाई सम्मान गरिएको छ भने अनुपातमा सबैभन्दा बढी राजस्व उठाउन सफल वडा न ४ र सबैभन्दा बढी कर उठाउने वडा न ७ लाई समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया