१२ असार, सिन्धुपाल्चोक । नेपालमै पहिलो रिभर विचका रुपमा विकसित सिन्धुपाल्चोकको चर्चित सुकुटे क्षेत्रमा आज भोलि पर्यटकको बाक्लो उपस्थिति छ । पहिले विदाका दिन मात्रै भिडभाड देखिने सो क्षेत्रमा अहिले हरेक दिन जसो हज्जारौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । पर्यटकको बाक्लो उपस्थिति र चहलपहलका कारण अरनिको राजमार्गमा पर्ने सुनकोशी नदी करिडोरमा फोहोर देखिन थालेको छ । यसको सफाइका सन्दर्भमा नगरपालिकाका मेयर आफैं जुटेका छन् । सुकुटे आसपासका सुनकोसी, भोटेकोशी, र ब्रम्हायणी नदी करिडोरलाई सफा राख्ने उदेश्यले खोला बचाउ कार्यक्रम समेत सुरु गरिएको छ ।
नदीमा एकातिर हाइड्रो र अर्कातिर ढुंगा तथा बालुवा निकालेर प्राकृतिक बहाब नै विग्रने अबस्था आएको र जनघनत्व बढेसँगै फोहोर व्यवस्थापन समेत चुनौति बनेपछि नगरपालिकाको नेतृत्व आफै सरसफाईमा अघि सरेको हो ।
सो क्षेत्रको सरसफाईमा सरोकार राख्ने संस्थाहरुलाई समेत समेटेर नगरपालिकाले सफाई अभियान चलाएको हो । सफाई कार्यक्रममा मेयर सापकोटाले यसबर्ष बिशेष अनुदानका लागि नगरले गरेको पहलकदमी पछि ८० लाख बजेट परेको जानकारी गराए । बजेट मार्फत काम गरेपछि सुकुटे आसपासमा थप सुन्दरता थपिने उनले विश्वास व्यक्त गरे ।
उनले कार्यक्रममा सुकुटे करिडोरलाई पर्यटनको हिसाबले पहिलो प्राथमिकतामा राखेर कार्यक्रम गरिने स्पष्ट गरे । सुकुटे क्षेत्र र सुनकोसी नदी आसपासलाई प्रदुषण मुक्त बनाउनु पर्नेमा मेयर साकोटाको जोड छ । उनले सरसफाई अभियानमा जुट्न अभियन्ता, रिसोर्ट व्यवसायी र स्थानीय सबैलाई अपिल समेत गरेका छन् ।
वर्तमान प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको ‘मन पर्ने’ पर्यटकीय क्षेत्र भनेर कहलाएको सुकुटे क्षेत्रको सफाइमा मंगलबार मेयर सापकोटा आफैं उत्रिएका हुन् । गत मंसिरमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि प्रचण्ड उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटालाई लिएर आराम तथा छलफल गर्न सुकुटे पुगेका थिए । त्यसबेला चौताराका मेयर सापकोटा लगायतका नेताहरुले प्रचण्डलाई जिल्लामा स्वागत गरेका थिए । सुकुेटबाट फर्किएको केही समयमा उनी प्रधानमन्त्री बने । विश्वभर कोभिड महामारी सुर हुनु अघि गरिएको सुकुेट महोत्सबको प्रचण्डले नै उद्घाटन गरेका थिए ।