उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल चीन प्रस्थान

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ ।

१३ असार, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ गएराति ११ः२० बजे पाँचदिने भ्रमणको लागि चीनको सिचुवान प्रस्थान गरेका हुन् । आज छेन्दुमा आयोजना हुने पश्चिमी चिनियाँ अन्तराष्ट्रिय मेलाको उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा गृहमन्त्री श्रेष्ठ सरिक भएर सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा उनले सिचुवान विश्वविद्यालयमा भेटघाट तथा अवलोकन सहित त्यहॅा अध्ययनरत करिब ३०० अन्तराष्ट्रिय विद्यार्थीहरूलाई सम्बोधन गर्ने छन् ।
त्यसैगरी उनले भुकम्पपछिको पुनर्निर्माण भएको यिङछिउ भुकम्प स्थल र जिपिङपु स्थित हाइड्रो जक्सनको तथा दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण पनि गर्ने भएका छन् । श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन् ।

प्रतिक्रिया