चौतारा साँगाचोकगढी -११ मा जंगली जनावरबाट बालीनाली जोगाउन तारबार

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ ले जंगली जनावरबाट बालीनाली जोगाउन तारबार लगाउन सुरु गरेको छ । वडाभित्र पर्ने जंगल छेउका बस्तीहरुमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले दु:ख दिनथालेपछि वडाले बस्ती तथा खेतबारीको छेउमा तारबार लगाउन थालेको हो ।

१४ असार, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ ले जंगली जनावरबाट बालीनाली जोगाउन तारबार लगाउन सुरु गरेको छ । वडाभित्र पर्ने जंगल छेउका बस्तीहरुमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले दु:ख दिनथालेपछि वडाले बस्ती तथा खेतबारीको छेउमा तारबार लगाउन थालेको हो ।
जंगल छेउमा रहेका बस्तीका किसानले जंगली जनावरको आतंकका कारण अन्नपात जोगाउन दिन-रात रखबारी गर्नु पर्ने बाध्यता छ । किसानको बाध्यता बुझेपछि वडाले यो बर्ष परिक्षणका रुपमा तारबार सुरु गरेको अध्यक्ष रोशन गिरीले बताए । ‘जंगल छेउका बासिन्दाले रातभर टिन ठटाएर जनावर लखेटेको सुनेको थिए, खेतिपाति लगाएको बेला विहान सबेरैदेखि बेलुका अबेर सम्म कुरुवा बस्नु पर्छ, जनप्रतिनिधि भएपछि सहजीकरणको प्रयास गरिएको छ’ उनले भने ।

गिरीका अनुसार वडाले नगरपालिकासंगको समन्वयमा ७ लाख रुपैंया खर्चिएर चार टन जे आई र काँडेतार किनेर तारबार गरिएको हो । ‘तार किनेर ल्यायौं, बस्तीहरुमा वितरण गर्यौ, स्थानीयले उत्साहका साथ तारबार लगाएका छन्’। यस वर्ष लगाइएको छेकबारको कामले जंगली जनावर खेतबारीमा आउन रोकिए अर्को वर्षपनि यसलाई निरन्तरता दिने वडाध्यक्ष गिरीले सुनाए । जंगलबाट खेतबारी तथा गाउँ छिर्ने सिमानामा काठ गाडेर तीन तहमा तारबार गरिएको स्थानीय विष्णु पराजुलीले बताए । गाडिएको काठका खम्बाहरुमा तीन तहको तारमा बाँधिएका छन् । जसमा तलको र माथिको दुई वटा सामान्य बिचमा काँडेतार राखिएको उनले बताए । तारबारले बदेल र मृग खेतबारीमा नपस्ने पराजुलीको विश्वास छ । विशेषगरि जंगलसँग जोडिएका बस्तीहरु बढी पीडित भएकाले वडाका डुम्रे, गैराथोक, पोखरे, कटुन्जेपानी, पौवाथोक, बिर्ताथोकमा यो कार्य थालनी गरिएको वडा अध्यक्ष गिरीले बताए ।
कतिपय बस्तीहरुमा तारबारको काम सम्पन्न भएपनि कतिपय गाउँहरुमा जारी छ । कार्य सम्पन्न भएका बस्तीहरुमा भने यो उपाय प्रभावकारी रहेको खबर पाएको अध्यक्ष गिरीले जानकारी दिए । उनले भने ‘सानो अवरोध भयो यो भने जंगली जनावर खेतबारीमा नआउने रहेछ, सजिलो ठाउँ खोज्ने रहेछ, त्यसैले हामी त्यसलाई प्रारम्भिक अवरोध खडा गरिदिएका छौं, भित्र पस्न पाउँदैन’। बालीनाली कुर्न रातभर ढ्या्ङ्रो ठटाएर बस्ने किसानहरुको पीडालाई कम गर्न कार्यक्रम संचालनमा ल्याएको अध्यक्ष गिरीको भनाई छ ।

प्रतिक्रिया