बागमती सञ्चार रजिष्ट्रार कार्यालयद्वारा एक वर्षमा २ सय २२ पत्रकार प्रशिक्षित, ३८ प्रतिशत महिला

१४ असार, हेटौंडा । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले चालु आर्थिक वर्षमा सञ्चालन गरेका आवासीय तालिमबाट २ सय २२ जना पत्रकार प्रशिक्षित भएका छन् । प्राविधिक तथा व्यवस्थापकतर्फ गरी प्रशिक्षित भएका मध्ये करीव ३८ प्रतिशत महिला रहेको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

डेटा ड्रिभन पत्रकारिता तालिमबाट प्रशिक्षित हुने ४२ जनामा आठ जना महिला रहेको, छन् । उनले अनलाई पत्रकारिता तालिमबाट प्रशिक्षित हुने ३७ जनामा १४ जना महिला, मोबाइल पत्रकारिता तालिमबाट प्रशिक्षित हुने ४२ जनामा १८ जना महिला, रेडियो प्राविधिक तालिम पाउने ५५ जनामा १२ जना महिला रहेको बताए । सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार पत्रकार महिलाका लागि सञ्चालित समाचार लेखन तथा सम्पादनकलाबाट प्रशिक्षित पत्रकार महिलाको संख्या २३ रहेको छ । सञ्चार रजिष्ट्रार कार्यालयले सीप र समावेशीतालाई प्राथमिकतामा राख्दै आएको उनको भनाई छ ।

बागमती प्रदेशको पत्रकारिताको गुणस्तरबृद्धिका लागि सीप सिकाउने प्रयास आगामी वर्ष पनि जारी रहने सापकोटाले जानकारी दिए । सञ्चार रजिष्ट्रारको कार्यालयले अनलाइन पत्रकारिता हातेपुस्तिका, डिजिटल साक्षरता, उहिलेको पत्रकारिता, बत्तीस कोण, बागमती प्रदेशमा मिडिया जस्ता कृति प्रकाशित भइसकेको जनाएको छ । यस्तै साइबर सुरक्षा, बिधागत बिट पत्रकारिता र उहिलेको पत्रकारिताको भाग दुई प्रकाशनको तयारी रहेको सापकोटाले बताए । सञ्चार रजिष्ट्रार सापकोटाले विद्धान लेखकहरुबाट लेखिएका अध्ययन सामग्री रहने यी पुस्तकले पत्रकारिताको गुणस्तर बृद्धिका लागि योगदान पुर्याउने विश्वास व्यक्त गरे। गुणस्तरिय सूचना प्राप्त गर्ने नागरिकको अधिकारलाई सुरक्षित गराउने र गलत तथा भ्रामक समाचार कम गराउने हाम्रो प्रयास जारी रहने छ, विहिबार उनले सार्वजनिक गरेको तालिम सम्बन्धी विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया