आज राष्ट्रिय धान दिवस

आज ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ रोपाइँ महोत्सव तथा राष्ट्रिय धान दिवस मनाईदैँ छ ।

१५ असार, सिन्धुपाल्चोक । आज ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ रोपाइँ महोत्सव तथा राष्ट्रिय धान दिवस मनाईदैँ छ ।
नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार वि.सं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती रहेको र धान प्रमुख अन्नबाली भएसगैँ आज धान दिवस खेतमा काम गर्दै मनाइन्छ । असारे भाकामा लोकदोहोरी गाउँदै, लाठे रोपार मिलेर हिलो छ्यापाछ्याप गर्दै आजको दिनलाई उत्सवको रुपमा लिएर धान रोप्ने चलन छ ।
पहिले पहिले रोपाइँ गर्दा गोरु जोतेर गरिन्थ्यो भने अहिले सजिलो र छिटो हुने भएपछि अधिकांश कृषकको गोरु पालन छाडेर ट्र्याक्टरप्रति आकर्षण बढेको पाइएको छ ।
धान आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको धानबालीलाई एउटा बाली का रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न धान दिवस मनाउन थालिएको कृषि विभागले जनाएको छ ।
आजको दिनलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशामा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँदै आएका छन् ।
सरकारले असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा आज दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

प्रतिक्रिया