

२२ असार, मेलम्ची । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्याएको छ । गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति पुगेपछि स्थानीय त्रसित भएका हुन् । २०७८ असार १ गतेको बाढी पश्चात बनाइएको पुलमा क्षति पुगेपछि मानव आवतजावतमा कठिन भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए । “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उनले भने । फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका ७ र ८, हेलम्बु गाँउपालिका २ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका १ र २ का बासिन्दा प्रभावित भएका छन् । इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।

