राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्ने प्रयास गरिरहेका छौं : सांसद सापकोटा

प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्यहरुलाई नेपालले स्थानीयकरण गर्ने प्रयास गरिरहेको बताएका छन् ।

४ साउन, काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्यहरुलाई नेपालले स्थानीयकरण गर्ने प्रयास गरिरहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघद्वारा आयोजित दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा नेपालको प्रतिनिधिका रुपमा सम्बोधन गर्दै सांसद सापकोटाले नेपालले दिगो विकास लक्ष्य स्थानीयकरण गर्ने प्रयास गरिरहेको बताएका हुन् । सम्बोधनका क्रममा उनले कानून र नीतिहरू लागू गरेर दिगो विकास लक्ष्य कार्यान्वयन भइरहेको बताए । सापकोटाले नेपालको नीतिले सामाजिक आर्थिक तथा पूर्वाधारको विकास, प्राकृतिक स्रोत र वातावरणको संरक्षणलगायतका नीतिहरूसहित दिगो विकासका खम्बाहरूलाई पूर्ण रूपमा समेटेको तर  सामाजिक र आर्थिक विकासका लागि प्रभावकारी कार्यक्रमहरू कार्यान्वयन गर्न स्रोत साधन र क्षमतामा गम्भीर अवरोधको सामना गर्नुपरेको बताए । उनले नेपालले लक्ष्य कार्यान्वयनका लागि अघि सारेका कार्यक्रम कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल गरे ।
सांसद सापकोटाले नेपालको संविधानमा खाद्यान्न, आवास, खानेपानी र सरसफाइ, स्वास्थ्य, शिक्षा र रोजगारीलाई नागरिकको मौलिक अधिकारका रूपमा राखिएको स्मरण गराउँदै मौलिक हक कार्यान्वयनका लागी काकून निर्माण गरिएको जानकारी गराए । 
सापकोटा सहितको संसदीय प्रतिनिधि मण्डल अमेरिकाको न्युयोर्कमा आयोजित दिगो विकास सम्बन्धी उच्चस्तरीय राजनीतिक मञ्चमा भाग लिन असार २४ गते अमेरिका प्रस्थान गरेको थियो ।

प्रतिक्रिया