खाली तथा बाँझो जमिनमा कफी र टिमुर खेती

बलेफी गाउँपालिका भित्रका खाली तथा बाँझो जमिन उपयोग कार्यक्रम अन्तरगत त्यस्तो जमिनमा कफी र टिमुर खेती सुरु गरिएको छ ।

५ साउन, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका भित्रका खाली तथा बाँझो जमिन उपयोग कार्यक्रम अन्तरगत त्यस्तो जमिनमा कफी र टिमुर खेती सुरु गरिएको छ ।
गाउँपालिकाको वडा नं ७ चिम्लिङमा बिहीबार बागमती प्रदेश सदस्य अमृता नेपाल र बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले कफी तथा टिमुरको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेसँगै उक्त कार्यको सुरुवात भएको हो ।
स्थानीय, किसान, जनप्रतिनिधि तथा सम्बद्धहरुको बाक्लो उपस्थितिरमा बाँझो जग्गामा कफी र टिमुर खेती सुरु गरिएको हो । गाउँपालिका तथा ग्रीन लाईन बहुउद्देश्यीय सहकारी संस्था लि को संयुक्त साझेदारीमा खाली तथा बाँझो जग्गामा कफी र टिमुर खेती सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद नेपालले धान, मकै, कोदो जस्ता बालीलाई मात्र बाली मान्ने परम्परा त्याग्नुपर्ने बताइन् । कफी, टिमुर जस्ता बिरुवालाई पनि प्राथमिकतामा राख्न सके स्थानीयको जीवनस्तर उठ्ने उनको धारणा थियो । नेपालले कफी र टिमुर जस्ता बिरुवा रोप्ने कार्य थालेकोमा खुसी व्यक्त गर्दै निरन्तरताको कामना गरिन् । गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले  गाउँपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्न सघाउने नीति अघि सारेको जानकारी गराउँदै किसान मैत्रि कार्यक्रमका लागि पालिकाको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया