कुविन्डेमा दक्षिण एसिया मै पहिलो ‘जीवन्त गाउँ परियोजना’ सुरु, गरिबी निवारण मुख्य लक्ष्य

चौतारा साँगाचोकगढी नगरपालिकाको कुविण्डेमा दक्षिण एशियामै पहिलो 'जीवन्त गाउँ परियोजना' सुरु भएको छ ।

८ साउन, सिन्धुपाल्चोक । १० बर्षे जनयुद्धको उद्गमस्थल मध्येको चर्चीत कुविण्डेमा दक्षिण एसिया मै पहिलो ‘जीवन्त गाउँ परियोजना’ सुरु भएको छ ।
‘चीन – दक्षिण एसियाली मुलुकहरु गरिबी निवारण तथा विकास सहयोग केन्द्रको “जीवन्त गाउँ ” नमुना परियोजना’ अन्तरगत उत्तरी छिमेकी देश चीनको सहयोगमा आय आर्जनमा सहयोग गरी गरिबी निवारण गर्ने उदेश्यले ‘जीवन्त गाउँ परियोजना’ सुरु गरिएको हो ।
सोमबार निवर्तमान सभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा र चीनको छोङकिङ प्रान्तका कृषि तथा ग्रामीण विकास आयोगका पार्टी सेक्रेटरी लिउ कुइचोङले परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । चिनीयाँ कम्युनिष्ट पार्टी (सिपिसि) का पोलिटब्यूरो सदस्य एवं छोङकिङ प्रान्तका पार्टी सेक्रेटरी युआन च्याचिनको नेपाल भ्रमणको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं ४ कुविन्डेमा कार्यक्रम सुरुवात गरिएको हो ।

गृहनगरमा भएको उद्घाटन कार्यक्रममा सापकोटाले गरिबी निवारणको चिनीयाँ अनुभवबाट सिकेर नेपाली जनताको जीवनस्तरमा सुधार गर्न कुविन्डेबाट परियोजना सुरु भएकोमा गौरव महशुस भएको बताए । छोङकिङका कृषि तथा ग्रामिण विकास आयोगका पार्टी सेक्रेटरी लिउ कुइचोङले वेमौसमी तरकारी, पशु नश्ल सुधार एवम् आहार विहारमा सुधार गरी दुध उत्पादन बृद्धि, माटोको उर्वरा शक्ति बढाउने चिनीयाँ प्रविधि एवम् अनुभव हस्तान्तरण गरिने जानकारी दिए ।
कृषि र पशुपालनलाई विशेष जोड दिई जनतालाई कृषिबाटै आत्मनिर्भर बनाउने उदेश्यका साथ सुरु गरिएको कार्यक्रममा वडा नं ४ को कुविन्डे दुग्ध उत्पादक सहकारी संस्थालाई दुध प्याकेजिङ मेशिन प्रदान गरिएको छ । सोही वडाका कालिकादेवी माध्यमिक विद्यालय र सेतिदेवी पञ्चकन्या माध्यमिक विद्यालयका नर्सरी देखी ८ सम्मका विद्यार्थी र ३ वटा इ सि डीका जम्मा ४ सय ३६ विद्यार्थीलाई झोलालगायत शैक्षिक सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष कुमार शर्माका अनुसार कृषिबाटै जनताको जीवनस्तर उठाउन बेमौसमी तरकारी खेतीलगायतका तालिम सञ्चालन हुने छ ।

प्रतिक्रिया