गोदामघर सञ्चालन ल्याउन मुख्यमन्त्री जम्कट्टेलको निर्देशन

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघर सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

११ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघर सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले कार्यविधि बनाएर विपद् व्यवस्थापनको रकम स्थानीय तहलाई हस्तान्तरण गरिने बताए । उनले जोखिमको पहिचान भएका स्थानीय तहमा पूर्वतयारी गरिहाल्नुपर्ने समेत बताए । उनले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेको गोदाम घर (विपद्को राहत तथा उद्धार सामग्री) चालु अवस्थामा राख्न निर्देशन दिए ।
बैठकमा मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० प्रदेश विपद् कोषबाट लागत साझेदारीबापत उपलब्ध गराइएको रकम, प्रदेश विपद् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो । प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यकता र औचित्यताका आधारमा विपद् व्यवस्थापन कोष परिचालन गर्ने, विपद् पहिचान भएका स्थानीय तहमा पूर्वतयारी, खोज उद्धार र राहत, आवास पुनःनिर्माण र पुनःस्थापनाका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
बागमती प्रदेशमा बाढी तथा पहिरोबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुनसक्ने अनुमान प्रदेश सरकारले गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलअनुसार विगत १० वर्ष (२०६९ देखि २०७९) सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेशमा घट्ने मनसुनजन्य विपद् क्रमशः बाढी, पहिरो, भारी वर्षा र महामारी रहेका छन् ।
विगत १० वर्षको तथ्याङ्कअनुसार दुई सय ४३ वटा बाढीका घटनामा ९६ मानिसको मृत्यु, ३९ घाइते र ५८ जना बेपत्ता भएको देखिन्छ भने सबैभन्दा बढी मानिसको मृत्यु वि.सं २०७० मा भएको देखिन्छ । वि.सं २०७९ को मनसुन तथ्याङ्कअनुसार बागमती प्रदेशमा १३ वटा बाढीका घटना भएकामा दुई जनाको मृत्यु भएको छ भने नौ घर पूर्ण क्षति हुँदा ९२ लाख ७३ हजार क्षति भएको थियो ।
वि.सं २०७९ मा भएको बाढीको घटनाको तथ्याङ्कअनुसार यसको प्रभाव असारदेखि कात्तिकसम्म हुने गरेको छ । सो मध्ये साउन महिनामा सबैभन्दा धेरै प्रभावित हुने गरेको तथ्याङ्क छ । बागमती प्रदेशमा गत वर्ष बाढीका घटना र क्षति भक्तपुर जिल्लामा सबैभन्दा बढी भएको र यसबाट रु ५७ लाख बराबरको क्षति भएको थियो । तेह्र जिल्लामध्ये प्रदेशमा बाढीका कारण मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक र रामेछाप प्रभावित हुने गरेको तथ्याङ्क छ ।
बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, कृषि तथा पशुपक्षी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ, श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, पर्यटन उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी, नेकपा (एमाले) बागमती प्रदेशसभा प्रमुख सचेतक मधुसुदन पौडेल, प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव धु्रव गैडा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्य, प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्याय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपानेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया