पानीमा डुब्नबाट रोकथामका लागि विश्व दिवस

रौतहट जिल्लाको गढीमाई नगरपालिकाले नेपालमा पहिलो पटक पानीमा डुब्नबाट रोकथामका लागि विश्व दिवस मनाएको छ ।

१२ साउन, रौतहट । रौतहट जिल्लाको गढीमाई नगरपालिकाले नेपालमा पहिलो पटक पानीमा डुब्नबाट रोकथामका लागि विश्व दिवस मनाएको छ । विश्व स्वास्थ्य संगठन नेपाल र नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी नेपाल)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक यो दिवस मनाइएको हो ।
विश्व स्वास्थ्य संगठनले सन २०२१ देखि जुलाई २५ मा पानीमा डुब्नबाट रोकथामको लागि विश्व दिवस मनाउदैँ आएको छ । तर नेपालमा भने यो दिवस मंगलबार पहिलो पटक मनाइएको हो ।

कार्यक्रममा स्वास्थ्य विभाग, भौतिक पूर्वाधार विभाग, शिक्षा विभाग र नेपाल प्रहरीका अधिकारीहरू सहभागी भई डुब्ने रोकथामका उपयुक्त उपायहरूबारे छलफल गरेका थिए । कार्यक्रमका प्रमुख वक्ता गढीमाई नगरपालिका प्रमुख श्याम यादवले डुबेर हुनसक्ने जोखिममा रहेको गढीमाई नगरपालिकाले नेपालमा डुबेर रोकथामसम्बन्धी पहिलो कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । उनले गढीमाई र आसपासका स्थानीय तहले अहिलेदेखि काम थाल्ने र निकट भविष्यमा सरोकारवाला सरकारी निकायहरुसँग पनि समन्वय गर्ने योजना रहेको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालकी अपाङ्गता समावेशी तथा पुनःस्थापना अधिकृत डा अनुराधा श्रेष्ठले विश्व स्वास्थ्य संगठनले पानीमा डुब्ने रोकथामका लागि विश्वव्यापी रूपमा रूपमा काम गरिरहेको र संभव जुनसुकै सहयोग उपलव्ध गराउनको लागि स्थानीय र संघीय स्तरका सरोकारवालाहरूसँग सहकार्य गर्न इच्छुक रहेको बताइन् । त्यसैगरी प्रादेशिक स्वास्थ्य अस्पतालमा मेडिकल अधिकृत डा प्रशुराम यादव ले डुब्ने समस्यालाइ रोकथाम गर्न तत्काल काम गर्न आवश्यक रहेको बताए । उनले यस मुद्दामा बहुक्षेत्रीय प्रकृतिको उल्लेख गर्दै अन्य सम्बन्धित सरोकारवालाहरूसँग मिलेर काम गर्नु पर्ने बताए ।

कार्यक्रममा निरीका सदस्य एवम अनुसन्धानकर्ता डा पुष्पराज पन्तले कतिपय अवस्थामा बच्चा खेल्दाखेल्दै कुलो, नहर, पोखरी र इनारमा परेर मर्ने गरेको स्मरण गर्दै उनीहरुको उचित निगरानी गर्ने, इनारको बिर्को लगाइदिने, जम्मा गरेको पानीको भाँडो राम्ररी छोप्ने र पोखरीमा बार लगाउन सके मात्र पनि धेरैको ज्यान जोगाउन सकिने बताए । निरीका प्रशासकिय अधिकृत सुरज पराजुलीले पानीमा डुब्ने समस्यालाई सम्बोधन गर्न र जनचेतना जगाउन आवश्यक रहेकोले कार्यक्रमको आयोजना गरेको बताए ।

प्रतिक्रिया