नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु हुँदैछ ।

१७ साउन, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु हुँदैछ ।
बुधबार बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्ने जनाइएको छ । अध्यक्ष प्रचण्ड गत पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएपछि पार्टीभित्र प्रशंसा भएको छ । बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ बैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् ।
बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए । माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको छ । बैठकको कार्यसूचीलगायतलाई पूर्णता दिन बुधबार बिहान माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

प्रतिक्रिया