माओवादी केन्द्रमा नयाँ कार्यविभाजन, प्रचार विभागको जिम्मेवारी उपाध्यक्ष सापकोटालाई

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । प्रचार विभागको इञ्चार्जको जिम्मेवारी उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई दिइएको छ ।

२१ साउन, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।
माओवादीले समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिएको छ । प्रचार विभागको इञ्चार्जको जिम्मेवारी उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई दिइएको छ । जनसङ्गठन समन्वयको जिम्मा उपाध्यक्ष पम्फा भुसालले पाउँदा विज्ञान–प्रविधि विभागको इञ्चार्जको जिम्मेवारीमा गणेश साहले पाएका छन् । बुद्धिजीवी, प्राध्यापक, मानवअधिकार, शिक्षक, तथा कानुन व्यवसायी सङ्गठनको समन्वयको जिम्मेवारी दिननाथ शर्मालाई दिइएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएको सम्बन्धी प्रस्ताव पेस गरेपछि सोहि अनुसार जिम्मेवारी तय भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । माओवादीले पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इञ्चार्ज बनाएको छ ।
यस्तै उपमहासचिव जनार्दन शर्मालाई वागमती प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । सचिव लीलामणि पोखरेललाई मधेश प्रदेश इञ्चार्ज र सचिव देवेन्द्र पौडेल गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी चक्रपाणि खनाललाई कोशी प्रदेश इञ्चार्ज, हितमान शाक्यलाई लुम्बिनी प्रदेश इञ्चार्ज, मात्रिका यादवलाई कर्णाली प्रदेश इञ्चार्ज र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । नेता गिरिराजमणि पोखरेललाई उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्जको जिम्मेवारी तोकिंदा नेता राम कार्कीलाई प्रवास प्रदेशको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
यसैगरी जनवर्गीय सङ्गठनका सबै फ्याक्र्सन इञ्चार्ज पनि परिवर्तन गरिएको छ । त्यस्तै पार्टीको स्थायी समिति र केन्द्रीय सदस्यहरुको समेत जिम्मेवारी तोकिएको बताइएको छ ।

प्रतिक्रिया