माओवादीले तीनमहिने विशेष अभियान चलाउने, सात प्रदेशका सात वडामा अध्यक्ष आफैँ सहभागी हुने

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिए।

२१ साउन, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) ले विशेष अभियानका रुपमा तीनमहिने ‘जनतासँग माओवादी अभियान’ सञ्चालन गर्ने भएको छ ।
आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकमा उठेका जिज्ञासाहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिए ।
उनले देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका हुन् । सो अभियानमा सात प्रदेशका सात वडावडामा आफैँ खटिने अध्यक्ष प्रचण्डको भनाइ थियो । सो अभियानमा पार्टीका सबै नेता तथा कार्यकर्ता कार्यक्षेत्रमा खटिनुपर्ने उनको भनाइ छ । आफू पनि सात वडा प्रदेशको विभिन्न सात वडामा पुगेर जनतासँग साक्षात्कार गर्ने उल्लेख गर्दै उनले अब सबै नेता तथा कार्यकर्ता जनतासँग एकाकार हुनैपर्ने र जोडिनैपर्ने बताए । उनले अहिले पनि पार्टी र नेतृत्व घेराबन्दीमा रहेको उल्लेख गरे । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सरकारका तर्फबाट भएको काम कारबाहीका बारेमा समेत जनतालाई जानकारी दिन आग्रह गरे ।
अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान योजनाबद्ध तरिकाले सञ्चालन गरिएको उल्लेख गरे । उनले अभियानलाई साथ दिन निर्देशनसमेत दिएका छन् । सुशासन एवम् समृद्धिको यात्रामा देश अगाडि बढ्ने स्पष्ट पार्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने बताए । उनले भने, “माओवादीले गरेन भने त्यसको नेतृत्व अरू कसैले गर्न सक्दैन भनेर योजनाबद्ध तरिकाले अघि बढेका हौँ । हामी यसलाई त्यतिकै छाड्दैनौँ, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला ।”उनले पार्टीको मुख्य नेतृृत्व वरिपरि गोलबन्द भएर विधि पद्धतिमा रहेर जनतासँग एकाकार भएर परिवर्तनको स्वामित्व लिने गरी अगाडि बढ्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले विचार र राजनीतिमा पार्टी एकमत भएको र भावनात्मक रुपमा एकै ठाउँमा आएको उल्लेख गरे । उनले जनतासँग एकाकार भएको खण्डमा माओवादीले पुनः देशको पूर्ण नेतृत्व गर्ने बताए। उनले विगतमा पार्टीमा केही अन्यौलमा परेजस्तो भए पनि केन्द्रीय समितिको बैठकपछि ती सबै हटेको स्पष्ट पारे ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक असाधारण रुपमा सम्पन्न भएको र विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिए । समाजवादी क्रान्तिको अभियान सुरु भएको उल्लेख गर्दै उनले ‘जनतासँग माओवादी विशेष रुपान्तरणका लागि अभियान’ सञ्चालन गर्न लागिएको बताए।
उनका अनुसार अभियानको आगामी भदौ १६ गते उद्घाटन हुन्छ । अभियानमा जनताको घरघरमा जाने र जनताको गुनासो सुन्ने र पार्टीमा केन्द्रित गरिने प्रवक्ता महराले जानकारी दिए । यही साउन १७ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमाथि नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
माओवादीले केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाएको छ ।   केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता थियो । बैठकमा पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहको तथ्याङ्क प्रस्तुत भएको थियो ।
माओवादीको केन्द्रीय समिति बैठक एक वर्षपछि बसेको हो । यसअघि २०७९ साल असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको थिएन । पार्टी अध्यक्ष दाहालको नेृत्वमा वर्तमान सरकार गठन भएपछि गत माघ २६ गते ‘श्रव्य दृश्युका माध्यमबाट केन्द्रीय समितिको बैठक बसेको थियो । माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो । माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोधपछि स्थगित गरेको थियो ।

प्रतिक्रिया