नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग ‘रेस्क्यु टनेल’ छिचोलियो

२२ साउन, काठमाडौं । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो ।
नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, सडक विभागका महानिर्देशक शीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रतिनिधिसभाका सदस्यहरू पनि सुरुङभित्र सहभागी थिए ।
मुख्य सुरुङ छिचोल्न बाँकी भए पनि आकस्मिक सुरुङबाट भने अबदेखि धादिङ काठमाडौँ वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए । साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको सुरुङमा सातवटा क्रस प्यासेज राखिएको छ । सुरुङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरुङ अवरुद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै निर्माण गरिएको आकस्मिक सुरुङ छिर्न मुख्य सुरुङमा सातवटा गेट राखिएको छ ।
आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ । सोमबारसम्म दुई हजार एक सय ८६ मिटर खन्ने काम सकिएको छ । मुख्य सुरुङ खन्न अब पाँच सय दुई मिटर बाँकी छ । आगामी मङ्सिरसम्ममा मुख्य सुरुङ पनि वारपार छिचोल्ने गरी काम भइरहेको कन्सल्टेन्सी इन्जिनियर कोइरालाले बताए । सुरुको ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्नेमा समयमा काम नभएपछि यो आयोजनाको म्याद २५ अप्रिल २०२४ सम्म थपिएको छ ।

प्रतिक्रिया