२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभागीय मन्त्रीसँग कार्यदसम्पादन सम्झौतामा हस्ताक्षरपछि मन्त्री र सचिवलाई संयुक्त सम्बोधन गर्दै उनले छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिए । विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादनअनुरूपको जिम्मेवारीमा ढिलाइ गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दैै प्रधानमन्त्रीले जिम्मेवारी पूरा नगर्नेलाई कारबाही गरिने बताए । कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोहीअनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ”, उनले भने ।प्रधानमन्त्रीले मासिकरूपमा हासिल गरेको गुणात्मक प्रगतिसहितको मासिक रिपोर्ट कार्डका आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिने बताए । “म र मन्त्रीबीच वार्षिक लक्ष्य किटानीसहित कार्यसम्पादन सम्झौता भएको छ । मन्त्री र सचिव तथा विभागीयस्तरमा समेत कार्यसम्पादन सम्झौता भइसकेको छ”, उनले भने “कार्यसम्पादनको नतिजा नै यहाँलाई चुनौतीपूर्ण र महत्वपूर्ण जिम्मेवारी दिने, जिम्मेवारीको निरन्तरता दिने, पुरस्कृत वा कारबाही गर्ने आधार हुने स्पष्ट पार्न चाहन्छु ।”