दल आबद्ध विद्यार्थी नेताले पैसा लिएर फर्म नबुझाएपछि नेपाल कमर्श क्याम्पसका ६३ विद्यार्थी परिक्षाबाट दिनबाट बञ्चित

२९ साउन, काठमाडौं । सोमबारदेखि सुरु भएको बि बि एस दोस्रो वर्षको परिक्षामा नेपाल कमर्स क्याम्पसका ६३ जना विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थी संगठन आवद्ध नेताहरुले विद्यार्थीको भर्ना र परिक्षा फारम भरिदिन्छु भन्दै पैसा लिएर सम्पर्क विहिन भएपछि विद्यार्थी बार्षिक परिक्षा दिनबाट बञ्चित भएका हुन ।
विद्यार्थी नेताहरुको बदमासीका कारण नेपाल कमर्स क्याम्पसमा मिन भवनको ‘ब्याचलर अफ बिजनेश स्टडिज (बीबीएस) दोस्रो वर्षमा अध्ययनरत कम्तिमा ६३ जना विद्यार्थी वार्षिक परीक्षा दिनबाट बञ्चित भएका हुन् । सोमबार विहान ७ बजेदेखि बिबिएस दोस्रो वर्षको परीक्षा सुरु भएकोमा उनीहरुले परिक्षा दिन पाएनन् ।
पीडित एक विद्यार्थीका अनुसार दोस्रो बर्षमा भर्ना र परिक्षा फारम भर्न सहयोग गर्ने भन्दै विद्यार्थी नेताहरुले नै विद्यार्थीहरुसँग जनहि ५ हजार देखि १५ हजार सम्म रकम उठाएका थिए । ‘तपाईहरु परिक्षाको तयारी गर्नुहोस् हामी सहयोग गर्छौ’ भन्दै चिनेकै नेताहरुले पैसा उठाएका थिए । परिक्षाका लागि प्रवेश पत्र लिने बेला ति नेताहरुलाई सम्पर्क गर्दा अधिकांश सम्पर्क विहिन भएका थिए । सम्पर्कमा आएकाहरुले विद्यार्थीलाई परिक्षा केन्द्रमा जान भनेका थिए भने परिक्षा केन्द्रमै प्रवेशपत्र ल्याइदिने आश्वासन समेत दिएका थिए । पीडित विद्यार्थीहरुका अनुसार उनीहरु कोही पनि परिक्षा केन्द्रमा आएनन् र सम्पर्कबिहिन बसे।
क्याम्पस प्रशासनका अनुसार ६३ जना विद्यार्थीमध्ये कसैको पनि परीक्षा फारम क्याम्पसको रेकर्डमा छैन । प्रवेश पत्र नपाएपछि विद्यार्थी विहानै क्याम्पसमा पुगेका थिए । उनीहरु आन्दोलित भएपछि मात्रै आजै फारम र पैसा लिएर परिक्षा नियन्त्रण कार्यालय जाने बारे छलफल भएको थियो । परिक्षा नियन्त्रण कार्यालयले यसबारे केही जानकारी दिएको छैन । परीक्षा फारम त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाएपछि मात्र प्रवेशपत्र आउँछ । चिनेकै विद्यार्थी नेताले पैसा उठाएर खाएपछि आफूहरुले परीक्षा दिन नपाएको भन्दै पीडित विद्यार्थीहरू अझै आन्दोलनमा छन् । क्याम्पस प्रशासन भने यस विषयमा मौन छ ।

पीडित विद्यार्थीलाई आजको परिक्षा दिन नपाएपनि आफूहरुले ३१ गते हुने अर्को परिक्षामा सहभागीताको ग्यारेन्टी गर्ने र कतै उजुरी नगर्न विद्यार्थी नेताहरुले भनेका छन् । प्रहरीले पीडितहरुले सामूहिक उजुरी दिए कारबाही अघि बढाउने बताएको छ ।
छात्रवृत्ति कोटामा फारम बुझाइदिने भन्दै विद्यार्थी नेताहरूबाट पीडितले आश्वास पाएका थिए । सोही अनुसार परीक्षा फारम भरेर उनीहरूले विद्यार्थी नेताहरूलाई रकम र फाराम बुझाएका थिए । तर शुल्क नबुझाएको र ढिला भएको भन्दै क्याम्पसले उक्त फारम बल्खु नपठाएको हो । स्रोत भन्छ, ‘यो प्रकरणमा विद्यार्थीबाट नेताहरूले पैसा लिएर फारम छात्रवृत्तिमा मिलाउन खोजेको देखिन्छ । क्याम्पस प्रशासन र विद्यार्थी नेताहरूको कुरो नमिलेपछि क्याम्पसले उनीहरू कै फारम रोकिदिएको हुन सक्छ ।’
पीडितहरुले आफूहरु बाँकि परिक्षाहरुमा समेत सहभागी हुन नपाउने डरले नाम भन्न डराएका छन् । पैसा उठाउनेमा मिन भवन क्याम्पसका विद्यार्थी संगठन आबद्ध प्रकाश रावल, दिपेन्द्र खत्री, सम्राज राई, सागर गौतम, ओम विक्रम विष्टलगायत रहेको पीडित विद्यार्थीले बताएका छन् । ‘भोलि सम्म एडमिट कार्ड नपाए प्रहरीमा लिखित उजुरी दिन्छौं’ एक पीडित विद्यार्थीले पालुवासँग भने ।

प्रतिक्रिया