जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन सक्तैन : अर्थमन्त्री महत

नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने बताए ।

३२ साउन, जनकपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले नेकपा (एमाले) ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन् । नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने बताए ।
नेपाली कांग्रेसका प्रवक्ता डा महतले प्रतिपक्ष दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे । मन्त्री डा महतले संसद्मा गतिरोध उत्पन्न गरिएका कारण संसद्मा लैजानका लागि तयार गरिएका विभिन्न विधेयकलाई पनि संसद्मा लैजान नसकिएको र कैयौँ महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल गर्न नसकिएको बताए । मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको जानकारी गराएका थिए । उनले भने “आर्थिक स्रोतको पर्याप्तताको अभावमा यसपाली सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन सकिएन, यसलाई कुनै क्षेत्र या भूगोलका मानिसले विभेदका रुपमा लिनु हुँदैन, यो मेरो आग्रह पनि हो ।”

प्रतिक्रिया