नागका चित्र घरका ढोकामा टाँसेर नागपञ्चमी मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइँदैछ ।

४ भदौ, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइँदैछ ।
आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रही आएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनुनपर्ने भन्ने कुरा बराहलगायतका पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
आजको दिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लाग्ने गर्दछ । पशुपतिस्थित वासुकी मन्दिरमा समेत विशेष पूजाआजा गर्ने गरिएको छ ।
आज नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरुले आराम गर्ने गर्दछन । आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ । घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । यसै मान्यताका आधारमा खेत बारीमा नागस्थान बनाई पूजा गरिन्छ ।
नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत, अग्नि, सर्प, चट्याङ लगायतको भय नहुने धार्मिक विश्वास रहेकाले विधिपूर्वक नागको पूजाआजा गरी तस्वीर टाँस्ने गरिएको प्रा डा भट्टराईले बताए ।

अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।।
एतानि नवनामानी नगनां च महत्मनाम ।
सायंकाले पठेन्नित्यं प्रातस्काले विशेषतस ।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत ।।

प्रतिक्रिया