प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड

प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ ।

४ भदौ, काठमाडौँ । प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले प्लाष्टिकजन्य सामग्रीको प्रयोग गर्ने बानी व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए ।
बैठकमा प्लाष्टिकका सामग्रीको पुनः प्रयोग तथा पुनः प्रशोधनका लागि प्लाष्टिक विनिमय बैंक सञ्चालन गर्नुपर्ने, प्लाष्टिकको कम प्रयोग गर्ने, पर्यटकीयस्थलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिइएको थियो । प्लाष्टिकबाट बनेका सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा स्थानीय तहमार्फत जनचेतना फैलाउनुपर्ने, सहरी क्षेत्रमा प्लाष्टिकका सामग्रीको विकल्पमा अन्य वस्तुको प्रयोग गर्नुपर्ने सहभागीको सुझाव थियो ।
समितिका सभापति प्रकाश पन्तले प्लाष्टिकबाट बनेका सामग्रीले मानव समुदाय तथा वातावरणमा पारेका प्रभाव न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रका सरोकारवालालाई नीतिको मस्यौदा तयार गरेर ल्याउन आग्रह गरे । सोह्रौँ पञ्चवर्षीय योजनामा प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट सिर्जित दुष्प्रभाव र प्रयोगमा कमी ल्याउने नीति समेट्नुपर्नेमा जोड दिँदै उनले नीति तर्जुमाका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण मन्त्रालय र निजी क्षेत्रसँग छलफल गर्न सकिने बताए ।
समिति सदस्य बिमला घिमिरेले स्थानीय तहलाई जिम्मेवार बनाएर प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा लाग्नुपर्ने बताइन् । प्लाष्टिकका सामग्रीको पुनः प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ थियो । अर्का सदस्य भुवनबहादुर सुनारले प्लाष्टिकजन्य सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा बेलैमा सोच्नुपर्ने बताइन् । उनले प्लाष्टिकको अन्दाधुन्ध प्रयोगबाट निम्तिएको दुष्प्रभाव न्यूनीकरण गनै सबैले ध्यान दिनुपर्ने बताइन् ।
नेपालमा सन् १९५० देखि प्लाष्टिकको प्रयोग बढ्दै गएको पाइन्छ । प्लाष्टिकको झोला मात्र नभइ इलेक्ट्रोनिक्स÷इलेक्ट्रिकल सामग्री, भाँडाकुँडा, बोतल, पाइप, ड्रम, खेलौना, फर्निचरलगायत क्षेत्रमा यसको व्यापक प्रयोग हुँदै आएको छ । सन् १९५० मा विश्वभर २० लाख टन प्लाष्टिक उत्पादन भएको र सन् २०१८ सम्म ४१ करोड टन प्लाष्टिक उत्पादन भएको तथ्याङ्क छ ।
नेपालमा प्रतिदिन करिब चार हजार नौ सय टन फोहर उत्पादन हुने गरेकामा प्लाष्टिकको हिस्सा १३ प्रतिशत रहेको छ । नेपालमा प्रतिवर्ष झण्डै एक लाख ६५ हजार टन प्लाष्टिकका सामग्री उत्पादन हुने गरेका छन् । बैठकमा सन् २०२१ मा नेपालमा करिब ६३ करोड अमेरिकी डलर बराबरको प्लाष्टिकजन्य वस्तुको आयात तथा ८६ लाख अमेरिकी डलर बराबरको निर्यात हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया