नेपालमा पहिलो पटक विधागत पत्रकारिता सम्बन्धी पुस्तक तयार

बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले विधागत पत्रकारिता सम्बन्धी पुस्तक (बिट जर्नलिजम गाइड बुक) तयार पारेको छ ।

५ भदौ, काठमाडौं । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले विधागत पत्रकारिता सम्बन्धी पुस्तक (बिट जर्नलिजम गाइड बुक) तयार पारेको छ । प्रदेश र बिस जना ख्यातीप्राप्त व्यक्तित्वहरुको सहकार्यबाट नेपालमा पहिलो पटक विधागत पत्रकारिता सम्बन्धी पुस्तक तयार भएको बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले बताए ।
उनले विधागत पत्रकारिता सम्बन्धी यो पुस्तक शुरुवात रहेको र अन्त्य नभएको भन्ने बुझिदिन सबैलाई अनुरोध गरेका छन् । नेपाली पत्रकारितालाई दिशानिर्देश गर्न र पत्रकारिताको गुणस्तरवृद्धिमा यो पुस्तकले योगदान पुरयाउने विश्वास लिएको उनले बताए ।
रजिष्टार सापकोटाले मोफसलमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई एउटा विधामा केन्द्रित भएर समाचार संकलन गरी विशेषज्ञ पत्रकार बनाउन उक्त पुस्तकले सहयोग पुर्याउने बताए । उनले पुस्तक तयार पार्न योगदान गर्ने बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रार कार्यालयका कर्मचारीसहित सबै लेखक, सम्पादक, डिजाइनर र छापाखानामा काम गर्ने सबैलाई एकमुष्ट रुपमा धन्यवाद दिएका छन् ।

पुस्तकमा बीस फरक विषयवस्तु समावेश छन् । विधागत पत्रकारिता अन्तर्गत विनोद ढुङ्गेलको विशेषज्ञ पत्रकारिताको अभ्यास, राजनीति पत्रकारिता अन्तर्गत रामकृष्ण रेग्मीको सार्वभौमिक जनअधिकारका लागि समेटिएको छ । यस्तै परराष्ट्र तथा कुटनीतिक मामिलामा धुर्वहरि अधिकारीको राष्ट्रिय हित निर्विवाद सर्वोपरि, कानुन तथा अदालती पत्रकारिता अन्तर्गत अनन्तराज लुइँटेलको न्यायको सत्मार्गलाई सहयोग, अपराध मामिला रिपोर्टिङमा के.पी ढुङ्गानाको कानुन-निषिद्व कामको निगरानी समावेश छन् ।

यस्तै भ्रष्टाचारका समाचार अन्तर्गत हरिबहादुर थापाको सुशासन र सदाचारका पक्षमा, विकास पत्रकारिता अन्तर्गत डा. सुरेश आचार्यको असल कार्यका लागि उत्प्रेरणा, प्रदेश र स्थानीय तहको रिपोर्टिङमा श्रीराम पौडेलको भुइँ तहका सरोकारमा समाचार, आर्थिक पत्रकारितामा कुबेर चालिसेको देशको स्तर देखाउने खबर जस्ता विषयवस्तु समावेश छन् ।
यस्तै मुराहरि पराजुलीको पूजी संकलनमाथी पत्रकारिताको नजर नामको विषय शेयर बजार रिपोर्टिङ अन्तर्गत समेटिएको छ । उर्जा तथा जलस्रोत पत्रकारिता भित्र विकास थापाको जनकल्याण र समृद्धिका लागी समाचार, कृषि मामिलाका समाचार अन्तर्गत डा. बद्रीप्रकाश ओझाको आत्मनिर्भरताका लागि पत्रकारिता, एकराज पाठकको स्वास्थ्य पत्रकारिता अन्तर्गतको सर्वप्रिय वस्तुबारे पत्रकारिता, त्यस्तै विपद मामिला पत्रकारिता अन्तर्गत दीपक सापकोटाको संकटको सहारा सूचना र सञ्चार समावेश गरिएको छ ।

पुस्तकमा मानवअधिकार पत्रकारिता अन्तर्गतको कपिल काफ्लेको न्यायिक शक्ति(सम्बन्ध नै मूल आधार, महिला तथा बालबालिका मामिला रिपोर्टिङ अन्तर्गत नितु पण्डितको न्यायिक समाजका लागि सशक्त आवाज, परम्परागत आदिवासी मामिला अन्तर्गत कुमार यात्रुको ज्ञान प्रणाली चिनेर मात्र पत्रकारिता समावेश छन् ।
पुस्तकमा समेटिएका विषयवस्तुमध्ये विज्ञान-प्रविधि पत्रकारिताको छ्त्र कार्कीको विज्ञान-समाज संवादको माध्यम, खेलकुद पत्रकारिता अन्तर्गत रोशन राउतको खेलकुदका समग्र पक्षमाथि निगरानी, कला तथा मनोरञ्जन पत्रकारिताभित्र रामनाथ घिमिरेको जीवनका रङ्गहरुको प्रस्तुति हुन् ।

प्रतिक्रिया