हङकङमाथि नेपालको सहज जित

चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

५ भदौ, काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । आजको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले पन्ध्र दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।

डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् ।
नेपालका लागि सम्झनाकुमारी खड्काले आजिवित ३६ रन बनाइन् । यस्तै पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिइन् । हङकङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो ।
यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन् । हङकङले १९ दशमलव एक ओभरमा सवै विकेटको क्षतिमा ८४ रन मा बनायो ।
बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन् । उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन् । सीता प्लेयर अफ दी म्याच भइन् । यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक/एक विकेट लिए ।
महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत आजै भएको अर्को खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको छ । आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी आई सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ ।

प्रतिक्रिया