तातोपानी नाकाबाट मानव आवतजावत सहजिकरण गर्न सांसद सापकोटाको नेतृत्वमा सर्बपक्षीय छलफल

तातोपानी नाका रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा सुबोधको नेतृत्वमा सो को तयारी स्वरुप शनिवार काठमाडौंमा सर्बपक्षीय छलफल भएको हो ।

९ भदौ, काठमाडौं । नेपाल र चीनबीच दशैं अघि नै तातोपानी नाकाबाट मानव आवतजावत गर्ने सहमती कार्यान्वयन गर्न तयारी तिब्र पारिएको छ । तातोपानी नाका रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा सुबोधको नेतृत्वमा सो को तयारी स्वरुप शनिवार काठमाडौंमा सर्बपक्षीय छलफल भएको हो ।

छलफलमा नेपाल चीन व्यापारिक तातोपानी नाकाबाट मानव आवतजावतको व्यवस्थापनको विषयमा महत्वपूर्ण छलफल भएको सांसाद सापकोटाले जानकारी दिए ।  उनले भने ‘बैठकमा शुक्रबार प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीसँग भएको भेटको जानकारी, तातोपानी क्षेत्रलाई व्यवस्थित गर्ने, सो क्षेत्रको भग्नावशेस हटाउन संघीय सरकारलाई आग्रह गर्ने, लिपिङ क्षेत्रको बजार पुनर्स्थापित गर्ने विषयमा छलफल भयो ।’ सहभागीका अनुसार बैठकमा चीनको सुरक्षा संवेदनशीलतालाई समेत ख्याल गर्दै मानव आवतजावतको तयारी गर्ने, गाउँ कार्यपालिकाले लिपिङको बजार पुनर्स्थापित गर्न सुझाव पेश गर्ने सहमती भएको छ ।

सांसद सापकोटा, बागमती बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माईली तामाङ, भोटेकोशी गाउँ पालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रहरी प्रमुख बाल नरसिंह राणा, सशस्त्र प्रहरी प्रमुख रवि केसी, भन्सार प्रमुख दयानन्द केसी,  सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सिमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा लि, तातोपानी पर्यटन व्यबसायी संघका अधिकारीहरु सहभागी थिए ।

शुक्रबार सांसद सापकोटा नेृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लाई बालुवाटारमा, उपप्रधानमन्त्री एवं गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पि साउदलाई  सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेट गरी तातोपानी नाका व्यवस्थित गर्ने विषयमा ध्यानाकर्षणपत्र बुझाएको थियो ।

ध्यानाकर्षण-पत्रमा भनिएको छ ‘बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको जुरेदेखि नाका सम्मको करिब ३० किलोमिटर सडक भुकम्प र बाढीका कारण नराम्ररी बिग्रिएको छ । जीर्ण सडकका कारण सो क्षेत्रमा निकै सास्ती खेप्नु परेको छ । चीनसँगको मितेरी पुल रहेको, ऐतिहासिक नाका क्षेत्र जोड्ने सो सडकको स्तरोन्नतिका लागि विशेष व्यवस्थाको हाम्रो पुरानै माग सुनुवाई हुन सकेको छैन, यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यान जाने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’ यस्तै पत्रमा आगामी सेप्टेम्बरदेखि मावव आवत जावत सुचारु गर्ने सहमती भइसकेकोमा तिब्बतस्थित धार्मीक तिर्थस्थल मानसरोबर यात्राका लागि सो रुटको प्रयोग गर्ने व्यवस्थाका लागि प्रधानमन्त्री कै तहबाट कुटनीतिक पहल हुने अपेक्षा गरिएको छ। नेपालबाट मानसरोबर जान सो रुट तुलनात्मक रुपमा छोटो, छिटो र सस्तो रहेको  विषय उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निकट भविष्यमा हुने चीन भ्रमण, यसबिचमा हुने उच्चस्तका कुटनीतिक भेटघाटका क्रममा यस ऐतिहासिक तातोपानी नाकासँग सम्बन्धीत विषयहरुले प्राथमिकता पाउने छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौं । सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि एवं स्थानीय राजनीतिकर्मीका रुपमा बाह्रविसे लिपिङ सडक खण्डको मर्मत, स्तरोन्नति र पर्यटकीय रुटका सन्दर्भमा विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

प्रतिक्रिया