‘दलहरुलाई विश्वासमा लिने प्रधानमन्त्रीको स्पिरिटलाई आत्मसात गरेको हुँ’: सापकोटा

माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति पद त्याग गरेका सांसद माधव सापकोटा 'सुबोध'ले दलहरुलाई विश्वासमा लिने प्रधानमन्त्रीको स्पिरिटलाई आफूले आत्मसात गरेको बताएका छन् ।

१० भदौ, काठमाडौं । माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति पद त्याग गरेका सांसद माधव सापकोटा ‘सुबोध’ले दलहरुलाई विश्वासमा लिने प्रधानमन्त्रीको स्पिरिटलाई आफूले आत्मसात गरेको बताएका छन् ।

सत्ता गठबन्धन दलहरुबीच माओवादीले दुई वटा सभापति पाउने सहमती भएको भएकोमा कानून र पूर्वाधार समितिमा दुई सांसद पठाउने आन्तरिक तयारी भएको थियो । जसमध्य सापकोटा पूर्वाधार र विमला सुबेदी कानून समितिमा जाने सहमती तयारी थियो । आइतबार विहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले एउटा सभापति राप्रपालाई दिने बताएका थिए । सो निर्णय कार्यान्वयन गर्न सिंहदरबारमा बसेको सत्ताधारी दलको बैठकमा कांग्रेसका मुख्यमन्त्री जोगाउन कांग्रेसकै कुनै एक सभापतिले त्याग गर्नु पर्ने विषय उठेपनि त्यो विषय उसले सुन्न नचाहेको एक सहभागी नेताले जानकारी दिए । उनका अनुसार कांग्रेसले ‘कोशीमा जेसुकै होस् हामी संसदीय समिति छोड्दैनौ’ भनेपछि माओवादीको भागमा ‘त्याग’ परेको हो । दुई मध्ये एक त्याग्नुपर्ने अवस्थामा सबैले सापकोटातर्फ हेरेका थिए । सापकोटाले आफू त्याग गर्न तयार रहेको बताएपछि सहमती जुटेको हो ।
सभापतिको नाम टुंगो लगाउन बसेको बैठक पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने ‘संसद सबैको हो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि एउटा सभापति दिन पाएको भए राम्रो हुने थियो, समग्र राजनीतिक स्थिरताका लागि एउटा समिति राप्रपालाई दिने कुरामा हामी सहमत भयौं, दलहरुलाई विश्वासमा लिने प्रधानमन्त्रीको स्पिरिटलाई मैले आत्मसात गरेको हुँ ।’ सभापति पाएपछि राप्रपाले कोशी प्रेदेशमा कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

प्रतिक्रिया