‘जुगलको आलु’ र काठमाडौंमा चर्चा कमाइरहेकी सिर्जना तामाङ

अहिले जुगल त्यहिँको माटोमा फलेको अर्गानिक आलु र त्यो आलुको महत्व दर्साउँदै गाउँगाउँबाट संकलन गरे काठमाडौं ल्याएर सेवा दिइरहेकी सिर्जनाका कारण चर्चामा छ ।

छ बर्ष अघि उनको यसै गरी चर्चा भएथ्यो, त्यतिबेला उनी गैरसरकारी संस्थाको सहजकर्ताको काम गर्दा गर्दै स्थानीय तहको पहिलो निर्वाचनमा उम्मेदवार बनेर गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । छ बर्ष पछि फेरि उनको चर्चा चुलिएको छ । उ बेला जुगलको राजनीति जोडिएर, अहिले त्यहि जुगलको आलुसँग जोडिएर । उनी काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमालको काखैमा पर्ने गुम्बाको पाँगर्पूमा जन्मेकी जुगलकी छोरी हुन् । उनी अर्थात सिर्जना तामाङ । अघिल्लो वैशाखसम्म उनी जुगलको उपाध्यक्ष थिइन, त्यसको पाँच बर्ष अघि जुगल क्षेत्रमै एक सक्रिय सामाजिक कार्यकर्ता । संविधान निर्माण पछिको पहिलो स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट उपाध्यक्षको उम्मेदवार बनिन् । जम्मा २३ वर्षकी उनी कान्छी मध्येकी एक उपाध्यक्ष थिइन्, देशव्यापी चर्चा भयो । कतिले ‘केटाकेटी’ पनि भन्न भ्याए तर भूकम्प पछिको पुनर्निर्माण, खुल्ला दिशामुक्त जुगल, महिला सहभागिता, कानून निर्माण, न्यायिक समितिको नेतृत्वका रुपमा उनले आफूलाई सफल बनाइन् । यसै पनि विकट त्यसमाथि अवसरहरुबाट बञ्चित जुगल । प्रशस्त प्राकृतिक स्रोत साधन भएर पनि सडक मार्गसँगको पहुँच शिक्षामा यथेष्ठ लगानी हुन नसक्दा उठ्नै नसक्ने गरी थलापरेको विरामी जस्तो बनेको जुगललाई फरक ढंगले चिनाउन त्यहिँको हिमालको चर्चामा लागेका युवाहरुको लामो लाइन छ, चर्चा पनि छ । ‘केही गरौं भन्ने युवा नेतृत्व’ लागिरहेको छ । अहिले भने जुगल त्यहिँको माटोमा फलेको अर्गानिक आलु र त्यो आलुको महत्व दर्साउँदै गाउँगाउँबाट संकलन गरेर काठमाडौं ल्याएर सेवा दिइरहेकी सिर्जनाका कारण चर्चामा छ । गाडीको सुविधा नहुन्जेलसम्म जुगलमा फलेको आलु साटेर दशैं मनाउन ब्रम्हायणी करिडोरका सयौं बस्तीका मानिस चामल र खुर्सानीको भारी बोकेर गुम्बा पुग्दथे । आलु र निहुरोको भारीलाई दशैं नाम दिएर घर फर्कन्थे । ति मानिस काठमाडौंमा बसेर जुगलको आलु सम्झेर कतै अन्तै फलेको आलु खाईरहेका थिए । यसै पनि ‘नेपालीको भान्छामा आलु नभए केही नभए जस्तो’ हुन्छ । जुगलको मिठो आलुको स्वाद चाख्न पाएकाहरुलाई काठमाडौं मै सहज रुपमा आलु उपलब्ध गराउने कामको नेतृत्व लिएकी सिर्जना केही समय अघिदेखि भक्तपुरमा जुगलबाट संकलित आलुको व्यापार गरिरहेकी छिन् । हज्जारौ आलु व्यापारी भन्दा फरक पहिचान र माटोसँग जोडिने विशेषताले उनलाई सबैले स्याबासी दिएका छन् । राजनीतिक नेतृत्व, सामाजिक व्यक्तित्व, साथी देखि आफन्तहरुले सिर्जनालाई हौसला दिइरहेका छन् । उनै सिर्जना सँग पालुवान्युजका लागि प्रजिता पराजुलीले गरेको कुराकानी :

तपाईंले जुगलको आलु ल्याएर काठमाडौंमा व्यापार सुरु गर्नु भयो, खास के महत्वको छ जुगलको आलु ?
जुगलको आलु खानेलाई धेरै कुरा थाहा छ । पहिला उपभोक्ताले जुगलको आलु कस्तो भन्ने चिन्नुभएको थिएन, जब उहाँहरुले आलु चिन्नुभयो अहिले एकदमै राम्रो प्रतिक्रिा दिनु भएको छ । टाढाटाढादेखि जुगलको आलु किन्न भनेर मानिसहरु आउनुहुन्छ र बोरा बोरा लिएर जानुहुन्छ । म उत्साहित भएकी छु। जुगलको लेकमा फलेको आलु खान पाउनेहरु यसको अर्गानिक स्वादमा लोभिइसक्नु भएको छ ।

तपाई उपाध्यक्ष हुँदा भन्दा पनि जुगलको आलुको व्यापारले चर्चा पायो जस्तो लाग्दैन ?
हो चर्चा पहिले पनि थियो र अहिले पनि । म उपाध्यक्ष हुँदा पनि चर्चामै थिए जस्तो लाग्छ । अहिले पनि आफ्नो ठाउँमा भएको उत्पादनको प्रवर्द्धनमा लागिरहेकोले होला धेरैले प्रशंसा गर्नु भएको छ । हौसला दिइरहनु भएको छ । मलाई यसले काम गर्ने जागर थपिएको छ ।

जुगलको आलु तपाइले यहाँ बेचेर तपाईको तेम्बाथान, गुम्बा, पाङताङ, डल्लेपोखरीका मानिसलाई के फरक पर्छ ?
धेरै फरक पर्छ । सडक नहुँदा आलु बोकेर जलविरे र बेलेफीसम्म पुग्नु पर्दथ्यो । त्यहि आलु बेचेर नुन तेल किन्नु पथ्र्यो । अहिले केही सहज भएपनि बजार र यसको चीनारीमा कमी भएको हो । जुगलको आलु उत्पादनमा महिला दिदीबहिनीहरु धेरै सक्रिय हुनुहुन्छ । मैले यो काम सुरु गरेपछि महिला दीदि बहिनीहरु बढी खुशी हुनुहुन्छ । आफुले उत्पादन गरेको अन्न आफ्नै घरबाट बिक्रि गरेर हात हातमा पैसा लिन पाँउदा खुसी भएको, आनन्द महसुस गर्नुभएको पाएको छु । आलुले सहि मुल्य पाएको छ । किसानहरुलाई कस्तो आलु बिक्रि हुन्छ भन्ने कुराको समेत ज्ञान थिएन, मैले आफैंले यस्तो खालको आलु बिक्रि हुन्छ भनेर सल्लाह दिएर घरघरबाटै आफैं उठाएर गाडीमा हालेर ल्याएको हो । पहिला विक्रि गर्न परे को मान्छे कहिले किन्न आउँछ भनेर कुरेर बस्नुपर्ने, समयमा मान्छे किन्न नआउने, समय बितिसकेपछि बिक्री भएको आलुको उचित मुल्य नआउने, आफ्नो दैनिक गुजाराको लागी चाहिने खर्च जुटाउन गाह्रो हुने जस्ता समस्या थिए । आलु बोकेर बिक्रिको लागी बजार सम्म ल्याउनु पर्थ्यो । अहिले यो आलु बजारीकरण भएपछि चै किसानहरुलाई सहज भएको छ।
आलुको उत्पादन राम्रो हुने भएको हुँदा हामीले यसलाई ब्रान्डिङ गर्ने नीति बनाएका थियौं र किसानहरुलाई आलु उत्पादन गर्न सचेतना कार्यक्रमहरु गर्यौ, सशक्तीकरण गरायौं, प्रोत्साहित गर्यौ । विभिन्न किसिमका अनुदानका कुरा पनि गर्यौ तर पनि उत्पादन बढाउन सकिएको थिएन, न त उत्पादित आलुले बजार नै पाएको थियो । पहिले उत्पादन हुने आलु चै धेरै जसो अन्न संग साटिने गरिन्थ्यो, एक घरबाट छ सात हजार सम्मको आलु मात्र बिक्री हुन्थ्यो तर अहिले भने एउटै घरमा एक डेढलाख सम्मको आलु बिक्रि भैरहेको छ ।
अहिले वर्षायाममा पनि तीन चार दिन लाएर जोखिमको सामना गरेर पनि जुगलको आलु मैले उपभोक्तासमक्ष पुर्याउने काम गरे । मलाई चैं मेरो यो कामले जुगलका आलु उत्पादकलाई सहज भएको छ जस्तो लाग्छ ।

यसको दिगोपन र व्यवसायीकरण बारे केही योजना छन् कि ?
यो प्रक्रिया निरन्तर चलिरहन्छ । बजारमा उपभोक्ताहरुले जुगलको आलु भन्ने चिन्न थालिसकेका छन् , अब बिस्तारै जुगलको आलुको अभाव हुँदा पनि खोजी हुन थाल्छ । यस्तै गरि जुगलका अरु उत्पादनहरु पनि ब्रान्डिङ हुन थाल्छन् । अब अर्को वर्षदेखि चैं जुगलको आलु एकदमै राम्रो र व्यवस्थित ढङ्गले बजारीकरण हुन्छ भन्नेमा म विश्वस्त छु। जुगलको आलुको एउटा ब्रान्ड बनाउने र यसको बजारीकरणमा दिगोपन ल्याउने हाम्रो अभियान निरन्तर चलिरहने छ ।

प्रतिक्रिया