जनैपूर्णिमामा मेला लाग्ने सिन्धुपाल्चोकका प्रसिद्ध धार्मिकस्थल

जनैपूर्णिमामा सिन्धुपाल्चोकको आधादर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् । यहाँका पाँचपोखरी, रैथानेश्वर महादेव, नौलिङेश्वर महादेव, भैरवकुण्ड, ढुकु र रानीपोखरीमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

११ भदौ, सिन्धुपाल्चोक । जनैपूर्णिमामा सिन्धुपाल्चोकको आधादर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् । यहाँका पाँचपोखरी, रैथानेश्वर महादेव, नौलिङेश्वर महादेव, भैरवकुण्ड, ढुकु र रानीपोखरीमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइ रहेको पाँचपोखरीमा साना–ठूलो गरी पाँचवटा ताल छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी छन् । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध भक्तजनले चढाउने गर्छन् । विशेषगरी यहाँ जाने भक्तजनले खेतीपातीको राम्रो उब्जनीका लागि कामना गर्दछन् । पाँचपोखरीमा रहेको भगवान शिवको मन्दिरमा गई पूजा गरेमा सुख, शान्तिका साथै महिलाले भगवान शिव जस्तै श्रीमान पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
पाँचपोखरी आसपासका स्थानमा आमायांग्री, ड्रागन गुफा, हबेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, जुगल हिमाल, दोर्जे लाक्पा हिमाललगायत पर्यटकीयस्थल रहेको पाँचपोखरी थाङ्पाल वडा नम्बर ३ का वडाअध्यक्ष निमछिरिङ तामाङले जानकारी दिए । धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेमा मनले चिताएका कुरा पूरा हुने जनविश्वास छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाउँ हो । उक्त कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताए ।
योसँगै चौतारा साँगाचोकगढी नगरपालिका–८ मा रहेको रानीपोखरीमा पनी भव्य मेला लाग्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न काठमाडौंको रानीपोखरीको झझल्को दिनेगरी पोखरीसहितको मन्दिर निर्माण गरिएको त्यहाँका वडाध्यक्ष अमृत दंगालले जानकारी दिए ।
मेलम्ची नगरपालिका–९, पाँचपोखरी थाङपाल थाउँपालिका–८ र ईन्द्रावती गाउँपालिका–१ को संगमस्थलमा रहेको नौलिङेश्वर महादेवमा पनि भब्य मेला लाग्ने गरेको छ । समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको नौलिङेश्वर महादेवको दर्शन गर्न झाँक्रीसहित भक्तजन आउने गरेको स्थानीयवासी किरण तामाङले बताए ।

प्रतिक्रिया