मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु

यस वर्ष  जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।

१४ भदौ, काठमाडौं । मुलुकमा यस वर्ष जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरणव्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए । उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए । यस्तै पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताए ।
भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भए । यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत आयोजनामा क्षति पूगेकोछ । त्यसबाट झण्डै आठ अर्ब ५० करोड क्षति पुगेको अनुमान गरिएको छ ।
मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा रु ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्याङक छ । मनसुन अवधिमा भएका बाढीपहिरोका घटनाबाट रु १५ अर्बभन्दा बढी भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताए । मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलङ्गे पुल बगाउँदा करिब रु ४१ करोडको क्षति हुन पुगेको छ । बाढीपहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा रु नौ करोड बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ । क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न रु १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताए । यसअवधिमा चट्याङ लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए । हाल मुलुकका दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्र्फीरुपमा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया