आठ बर्ष पछि तातोपानी नाकाबाट मानव आवतजावत खुल्यो, खुसी साट्न विहानै लिपिङ पुगे सांसद सापकोटा,फोटो फिचर

१५ भदौ, तातोपानी। नेपाल चीन तातोपानी नाकाबाट आठ बर्ष पछि मानव आवतजावत सुरु भएको छ । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरे । सांसद सापकोटा आफैंले मितेरी पुल तरेर चीन प्रस्थान गरे । सांसद सापकोटा सहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।

यो ऐतिहासिक क्षणको साक्षी बनेर खुसी साट्न नाका खुलाउने नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ विहानै तातोपानी नाका पुगेका थिए । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीहरु सहित नाका पुगेका उनले अब नाका पूर्ण सञ्चालनको बाटोमा गएको प्रतिक्रिया दिएका छन् ।
२०७२ साल वैशाख १२ गतेको महाभुकम्पपछि नेपाल चीनबीचको सो नाका पूर्ण रुपमा बन्द रहेको थियो । नेपाल र चीन दुबैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाई पन्छाएर सिमित सुचारु भएको नाका २०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द रहेको थियो ।


चीनबाट सिमित सामान आयातका लागि खुल्ला रहेको नाकाबाट २०८० बैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुले लगत्तै मानव आउजाउका लागि संसदमा संवोधन, कुटनीतिक भेटघाट र प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीलाई भेटगरी सोही विषयमा ज्ञापन पत्र बुझाउने कामको नेृतृत्व लिएका सांसद सापकोटा लगत्तै सिन्धुपाल्चोकका जनप्रतिनिधि, सुरक्षा निकाय र सम्वद्ध पक्षसँग सर्वपक्षीय छलफल चलाएका थिए । परिणाम स्वरुप चिनियाँ अधिकारीहरुले आजैदेखि मानव ओहोर दोहोरका लागि नाका सुचारु गर्न तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबिच भएको छलफलले स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया