१५ भदौ, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शनिवारदेखि तीन महिने “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” सञ्चालन गर्ने भएको छ ।
गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय अनुसार भदौ १६ गतेदेखि “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” सञ्चालन हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार अभियानको शनिवार विहान ९ बजे देशभरका सबै वडामा एकैपटक उद्घाटन हुने छ । “घर-घरमा माओवादी, जन-जनमा माओवादी” नारा दिइएको अभियानको लक्ष नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुऱ्याउने गरी पार्टी र जवसरमोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने रहेको माओवादीले जनाएको छ ।
यो अवधिमा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले बताए । उनले यो अभियान जनतासँग सिक्न जाने महत्वपूर्ण अवसर रहेको बताए । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा सापकोटाले सबै विषयमा जनताका कुरा सुन्ने र जनताका कुरा गम्भीरता पूर्वक लिइने बताए । उनले यो सामान्य अभियान नभएर पार्टी जीवनका लागि अन्तिम परिक्षा भएको बताए । उनले अभियान, विधान सम्मेलन हुँदै विषेश महाधिवेशनमा पुगेर पार्टी सामाजिक न्याय सहितको वैज्ञानिक समाजवाद स्थापनाका लागि पहल लिने उद्घोष गरे ।
प्रवक्ता सापकोटाका अनुसार अभियान अन्तरगत प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमलद दाहाल प्रचण्डले शनिबार चन्द्रागिरी न.पा.२, काठमाडौंमा हुने कार्यक्रममा सहभागिता जनाउने छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुर म.न.पा. २८, हरिसिद्धी, ललितपुरमा उपाध्यक्ष कृष्ण बहादुर महराले सुनछहारी गा.पा., जेलवाङ, रोल्पामा, उपाध्यक्ष अग्निप्रसाद सापकोटाले लिसंखु पाखर गाउँपालिका ३ वाफल सिन्धुपाल्चोकमा, उपाध्यक्ष पम्फा भुसालले ललितपुर म.न.पा. २२ मा र महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार न.पा. ८, भोटेवडार, लमजुङमा हुने कार्यक्रममा सहभागिता जनाउने छन् ।