उपाध्यक्ष सापकोटाद्वारा काउलीको विरुवा रोपेर “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को उद्घाटन, जनताका कुरा सुन्न पार्टी गाउँ फर्किएको भनाई

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी जनताका कुरा सुन्न अभियान लिएर गाउँ फर्किएको बताएका छन् ।

१६ भदौ, सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी जनताका कुरा सुन्न अभियान लिएर गाउँ फर्किएको बताएका छन् । माओवादी केन्द्रले शनिवारदेखि सुरु गरेको तीन महिने “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को गृहजिल्ला सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा न. ३ वाफलमा उद्घाटन गर्दै सापकोटाले सो कुरा बताएका हुन् । उनले स्थानीय उत्पादनका लागि सुरुवात गरेको जनसामुहिक कृषि फार्ममा काउलीको विरुवा रोपेर अभियानको उद्घाटन गरे ।

माओवादीको आधार इलाका मानिने वाफलमा शुक्रबार साँझ नै बास बस्न पुगेका सापकोटाले विहान, अभियान उद्घाटन कार्यक्रम र जनताको घरदैलोमा पुगेर अन्तरक्रिया गरेका थिए । पार्टीका स्थानीय नेता कार्यकर्ता र सर्वसाधारणले राखेका विषयबस्तु रुचिपूर्वक सुनेर आफ्नो भनाई राखेका सापकोटाले उत्पादन र आत्मनिर्भरतामा जोड दिए । जनताको बलमा विश्वलाई चकित पार्ने जनयुद्ध सम्भव भएको बताउँदै सापकोटाले फेरि जनताकै बलमा सामाजिक न्याय सहितको वैज्ञानिक समाजवाद स्थापनाका लागि पहल लिइने बताए ।

आफूले लगातार तीन पटक जिताएर पठाएका नेताले प्रतिनिधि सभाको सभामुखका रुपमा र पार्टीको उपाध्यक्षका रुपमा निभाएको भूमिकाको प्रशंसा गर्दै स्थानीयले सडक, गुठि जग्गा, स्वास्थ्य र शिक्षाका विषयमा राज्य गम्भीर हुनु पर्ने विषय राखेका थिए । निर्णायक तहमा रहेका नेताले आफ्ना विषयको कार्यान्वयन गर्ने विश्वासका साथ सुझाव र गुनासो राखेको उनीहरुको भनाई थियो ।
अभियान उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष राजु लामाले कृषिलाई प्राथमिकता दिएर उत्पादनमा विशेष जोड दिइएको बताए । उनले सामान्य विषयमा गाउँपालिकाले नै निर्णय लिन सक्ने भएपनि ठूला बजेटमा हुने कार्यक्रम केन्द्र र प्रदेशतहबाट सहयोग आए मात्रै सम्भव हुने बताए ।


यसैविच माओवादी अध्यक्ष प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडाबाट उद्घाटन गरेसँगै देशभरका सबै वडामा अभियान सुरु भएको छ । अभियान तीन महिना सम्म जारी रहने माओवादीले जनाएको छ । गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले भदौ १६ गतेदेखि “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” सञ्चालन गर्ने निर्णय गरेको थियो । यो अवधिमा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया