विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

१८ भदौ, काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो ।
समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन । उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो । नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया