तातोपानी नाका खुलेपछि संसदमा माधव सापकोटा : लिपिङ क्षेत्रको बजारीकरण गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले शुक्रबारदेखि मानव आवतजावत सहित तातोपानी नाका खोल्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

१८ भदौ, काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले शुक्रबारदेखि मानव आवतजावत सहित तातोपानी नाका खोल्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले आफू निर्वाचित क्षेत्र सिन्धुपाल्चोकका जनताको तर्फबाट धन्यवाद दिएका हुन । भदौ १५ देखि तातोपानी नाकाबाट दोहोरो मानव आउजाउ सुरु भएको छ ।
सांसद सापकोटाले नेपाल र चीनबिचको ब्यापारका लागि तातोपानी नाका दुरि र अवधीका हिसाबले  सबैभन्दा सजिलो एवं अरनिको र भृकुटीले पैदल यात्रा गरि चीन प्रस्थान गरेको ऐतिहासिक नाका रहेको चर्चा गरे । उनले बाह्रबिसे देखि लिपिङसम्मको सडक स्तरोन्नतिका लागी सरकारको ध्यानाकर्षण समेत गराए । ब्यापारिक नाका तातोपानी क्षेत्रको बाह्रबिसे लिपिङको सडक प्रधानमन्त्रीको आगामी चीन भ्रमणमा प्रमुख कार्यसूचिमा राखेर स्तरोन्नति गर्नुपर्नेमा उनले जोड दिए । उक्त क्षेत्रमा अध्यागमनको भवन समेत नभएको र प्रहरी र सुरक्षाकर्मी पाल टागेर बसिरहेको अवस्था रहेको भन्दै सांसद सापकोटाले सरकारको ध्यानाकर्षण गराए ।
मितेरी पुलसंग जोडिएको लिपिङ क्षेत्रको सबै जग्गा सरकारी रहेको र भुकम्प पछिका भग्नावशेष हटाएर सो क्षेत्रमा बजार र सहर ब्यबस्थित गर्ने काम सरकारलाई चुनौती भएको भन्दै सांसद सापकोटाले यसतर्फ सरकारले वेलैमा ध्यान दिनु पर्ने बताए । सो स्थानमा अस्थायी रुपमा बसोबास गर्ने र बिस्तारै पक्की घर बनाएर बसेपछि सरकार र जनताबिच झडपको स्थिति सिर्जना नहोस् भनेर वेलैमा राज्यले दीर्घकालीन रणनीति र सोच बनाएर लिपिङ क्षेत्रको बजारीकरण र बसोबासको ब्यवस्था मिलाउनपर्नेमा उनले जोड दिए । सापकोटाले तिब्बतमा अवस्थित प्रसिद्द पर्यटकिय तिर्थस्थल मानसरोवर तातोपानी नाकाबाट छोटो दुरिमा पुग्न सकिने र यसबाट भारत नेपाललगायतका पर्यटकको संख्या बढ्ने विषयमा समेत ध्यानाकर्षण गराए । उनले तिब्बतमा तातोपानी मार्ग हुँदै नेपालको बिजुली निर्यात गर्न सहज हुने सम्भावना रहेको बताए । तिब्बतमा चौरी पालन हुने गरेको भन्दै सापकोटाले नेपालबाट घास तथा ढोडको निर्यात गर्न सकिने र यसले देशको अर्थतन्त्र सुदृढ गर्न मद्धत गर्ने बताए । उनले देशको ब्यापार घाटालाई न्यूनीकरण गर्न यस्ता संभावना तिर सरकारको ध्यानाकर्षण हुनुपर्नेमा बताए ।

प्रतिक्रिया