नेपाल सबैभन्दा बढी जलवायु जोखिममा : सांसद माधव सापकोटा

प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुबोध'ले नेपाल सबैभन्दा बढी जलवायु जोखिममा रहेको बताएका छन् ।

२२ भदौ, बंगलादेश । प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले नेपाल सबैभन्दा बढी जलवायु जोखिममा रहेको बताएका छन् । बंगलादेशको ढाकामा आयोजित ‘टुवार्ड्स अ रेजिसिलियन्स साउथ एसिया रिजनल क्लाइमेट समिट २०२३’ लाई नेपालका तर्फबाट शुक्रबार सम्बोधन गर्दै सांसद सापकोटाले जलवायु परिवर्तनको चर्को समस्यासँग जुधिरहेको नेपालले भोग्नु परेको समस्याबारे जानकारी गराएका हुन् । सम्बोधनका क्रममा उनले भने ‘पानी र फोहोर व्यवस्थापन आधुनिक सहरी समाजमा आधारभूत तर जटिल चुनौतीहरू हुन्।’

नेपालको सन्दर्भमा खानेपानी आपूर्ति, सिँचाइ प्रणाली र फोहोरमैलाको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारहरूको रहेको चर्चा गर्दै उनले जलवायु परिवर्तनका प्रभावहरू कम गर्न चेतना, ज्ञान र तयारी अभिवृद्धि गर्न जरुरी रहेको बताए । अनुकूलन क्षमता र जोखिम न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाई थियो । सांसद सापकोटाले नेपालको विशिष्ट सन्दर्भमा, स्थानीय सरकारहरूलाई बलियो बनाउन, उत्कृष्ट अभ्यासहरूबाट पाठ सिक्नुपर्नेमा जोड दिँदै स्रोतहरू बाँडफाँड गरी जलवायु अनुकूल पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए । संघीय, प्रादेशिक र स्थानीय सरकाले निजी क्षेत्र र नागरिक समाजसँग सहकार्य गर्नु पर्ने उनको भनाई थियो । उनले भने ‘प्रभावकारी खानेपानी र फोहोर व्यवस्थापनका लागि समन्वय र सहकार्य आवश्यक छ ।’ सांसद सापकोटाले बंगलादेश र भारत जस्ता छिमेकी राष्ट्रहरूले सामना गरेका साझा चुनौतीहरूलाई हेर्दा नेपालले आपसी सिकाइ र संयुक्त परियोजनाहरूका लागि अवसर खोज्नु पर्ने धारणा राखेका थिए । समिटमा नेपाल, भारत, बंगलादेशलगायत देशका सांसदहरुको सहभागिता रहेको छ ।

समिटमा नेपालबाट सापकोटासँगै सांसदहरु प्रदिप पौडेल, ठाकुर गैरे र सोविता गौतम सहभागी भएका छन् । विहिबार बंगलादेश पुगको नेपाली संसदीय टोली आगामी मंगलबार स्वदेश फर्कनेछ ।

प्रतिक्रिया