जुरे क्षेत्रमा लगातार सुख्खा पहिरो खसेपछि स्थानीय भयभीत, पानी परे खतरा बढ्नसक्ने

जिल्लाको बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरो क्षेत्रमा सोमाबार विहानै देखि सुख्खा पहिरो खस्न थालेपछि स्थानीय भयभीय भएका छन् ।

२५ भदौ, सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरो क्षेत्रमा सोमबार विहानै देखि सुख्खा पहिरो खस्न थालेपछि स्थानीय भयभीत भएका छन् ।

दशक अघि २०७१ साल साउन १७ गते जुरे क्षेत्रको पहाडै खसेर २४ घण्टासम्म भोटेकोसी नदि थुनिएको त्रासदीको खाटा बस्न नपाउँदै पहिरो गएकै क्षेत्रमा सुख्खा पहिरो खस्न थालेपछि डर लागेको स्थानीयले बताएका छन् । अरनिको राजमार्गको लामोसाँघु बजार सकिने वित्तिकै जुरे पहिरो क्षेत्र सुरु हुन्छ । पहिरोको मुनिपट्टि रहेको बनसाँघु माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज नेपालले विहानैदेखि सुख्खा पहिरो खसिरहेको जानकारी दिए । ‘हाम्रो विद्यालय तल भएपनि छेउपट्टि भएकोले डर छैन, पानी नपर्दै लगातार पहिरो खसेकोले चैं स्थानीय डराएका छन्, अहिले पनि सुख्खा पहिरो खसिरहेको छ, पहिले पहिरो गएको ठाउँमा फराकिलो भूभाग छ, सडक सम्म त आइपुगेको छैन, पानी पर्यो भने डराउनु पर्ला’ उनले भने ।

अँधेरीस्थि ट्राफिक कार्यालयका सही उत्तमराज आचार्यले पहिरोका कारण सडक अबरुद्ध नभएको बताए । नेकपा माओवादी केन्द्र बलेफी गाउँपालिकाका सचिव नारायण पराजुलीले विहानै देखि सुख्खा पहिरो खसेर पुरै धुलो उडिरहेको जानकारी दिए । उनले अहिले नै डराउनु पर्ने अवस्था नरहेपनि पानी पर्दा भने सतर्क हुनुपर्ने बताए । पानी परेपछि माथिदेखिको माटो बगेर अरनिको राजमार्गमा आइपुग्ने र बाटो अबरुद्ध हुने गर्दछ । प्रहरीका अनुसार यो बर्ष ठूलो पानी नपरेका कारण अहिले सम्म सो स्थानमा पहिरोका कारण बाटो अबरोध भएको छैन ।  

प्रतिक्रिया