संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : निवर्तमान सभामुख सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् ।

२६ भदौ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे । नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक बृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताए । एमाले उपाध्यक्ष नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो ।

शोक वक्तव्यको पूर्णपाठ :
‘संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका पूर्व सभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण असामयीक निधनको खबरले स्तब्ध बनाएको छ । यस दुःखद घडीमा दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकमा रहनु भएका परिवार एवं आफन्तजनहरुमा गहिरो समवेदना ।
ऐतिहासिक संविधान सभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको योगदान अतुलनीय र सदा स्मरणीय छ । शालीन र समन्वयकारी भूमिकामार्फत सिंगो राजनीतिक वृत्तमा फरक छवी र पहिचान निर्माण गर्न सफल उहाँले सार्थक जीवन बाँच्नु भयो । नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, न्याय र समतामूलक समाज निर्माणमा नेम्वाङले पुर्याउनुभएको योगदानको पनि सँधै स्मरण भइरहनेछ ।’

प्रतिक्रिया