साहित्यकार एवं पत्रकार पराजुलीको निधन

साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ ।

२६ भदौ, काठमाडौँ । साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ । उनलाई गएराति छातिमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो । सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । पराजुलीको निधनपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्कदै छन् । उनको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिने जनाइएको छ ।

नेपाल समाचारपत्र दैनिक, स्पेसटाइम दैनिक, कान्तिपुर दैनिक, नागरिक दैनिक, हिमाल खबरपत्रिका, अभियानलगायत विभिन्न सञ्चारमाध्यममार्फत् तीन दशकभन्दा लामो समयदेखि उनले सक्रिय पत्रकारिता गर्दै आएका थिए ।
आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका ‘जन्तरमन्तर’ ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा माक्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’लगायतका कृति प्रकाशित छन् ।

प्रतिक्रिया