मेलम्ची नगरपालिकाद्वारा बाढी, पहिरो प्रभावित पाँचपोखरी र हेलम्बुलाइ सहयोग

वि.सं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ ।

२७ भदौ, सिन्धुपाल्चोक । वि.सं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ । यही भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०/१० लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए । मंगलबार रु १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले मेलम्ची नगरपालिका असल छिमेकीको रूपमा प्रस्तुत भएको भन्दै यसले गाउँपालिकालाई ठूलो सहयोग भएको बताए । अध्यक्ष लामाले बाढीग्रस्त तीनै पालिका मिलेर सङ्घ र प्रदेश सरकारलाई झकझकाउनु पर्ने बताए ।

हेलम्बु गाउँपालिकालाई आज रकम हस्तान्तरण गरिने मेलम्ची नगर प्रमुख तामाङले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरू चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया