‘नाडा अटो शो–२०२३’ को १५ औं संस्करण ३१ भदौसम्म

सवारी साधनको खरिद बिक्रीमा नेपालको सबै भन्दा ठूलो मेला ‘नाडा अटो शो–२०२३’ को १५ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ ।

२९ भदौ, काठमाडौं । सवारी साधनको खरिद बिक्रीमा नेपालको सबै भन्दा ठूलो मेला ‘नाडा अटो शो–२०२३’ को १५ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । २६ भदौदेखि सुरु भएको यो मेला ३१ भदौसम्म चल्नेछ ।
शोमा बीवाईडी, एमजी, नेटा र वुलिङ लगायत ब्रान्डले विद्युतीय सवारी मात्रै प्रदर्शनीमा राखेका छन् । कतिपय ब्रान्डले आफ्ना कम्पनीका पेट्रोलियम गाडीलाई भन्दा विद्युतीयलाई नै प्राथमिकता दिएका छन् । शोमा टाटा, हुन्डाई, किया, ग्रेटवाल, निसान लगायत ब्रान्डले पेट्रोलियम र विद्युतीय दुबैथरिलाई प्रदर्शनमा राखेका छन् भने पेट्रोल र डिजल गाडी मात्रै बेचिरहेका टोयोटा, मित्सुबिसी, रेनो, जीप, होन्डा, भक्सवागन, स्कोडा, इसुजु, सुवारु, पिगो, माज्दा, बीएमडब्ल्यू जस्ता ब्रान्डले सहभागिता जनाएका छैनन् ।

नाडा अटो शो’ को चौँथो दिनसम्म आइपुग्दा गुणस्तरीय ग्राहकको उपस्थितिले नसोचेको सफलता दिएको आयोजक संस्था नाडाका अध्यक्ष ध्रुव थापाले बताए । कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध र त्यसको असरका कारण आर्थिक गतिविधि कमजोर बनिरहेको बेला आयोजना गरिएको मेलामा अनुमान र अपेक्षाभन्दा ठूलो मात्रामा कारोबार र आर्थिक गतिविधि भइरहेको उनको दाबी छ ।

‘नाडा अटो शो’ मा दुईपाङ्ग्रेका २२ वटा स्टल छन् । कमर्सियल सवारी साधनहरुको ७ वटा स्टल, चारपाङ्ग्रे कारका १६ वटा स्टल रहेका छन् । यस्तै सवारी साधनका कम्पोनेण्ड र पाट्र्सहरुको ४२ वटा छन् । बैंक र वित्तीय संस्था र इन्स्योरेन्सका ९ वटा गरी ९६ वटा स्टलहरु र कार्यालय, मिडिया र व्यवस्थापनका अन्य स्टलहरु पनि रहेका छन् ।

प्रतिक्रिया