तीज आजदेखि : पहिलो दिन दर खाने दिन

नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ ।

३१ भदौ, काठमाडौँ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन आज दर खाइन्छ ।

विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजका गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रुपमा खाइ मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।
महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

पछिल्ला वर्षमा भने तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राईको धारणा छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ ।

प्रतिक्रिया