आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

३ असोज, काठमाडौँ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना भएको संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताएका छन् । उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नोतर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरे ।

यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेको समाजवादोन्मुख आर्थिक सामाजिक प्रणाली तथा गणतन्त्रात्मक सङ्घीयता, समावेशीतालाई सबैले पालना गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा उनले सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन ध्यानाकर्षणसमेत गराएका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताएका छन् ।

प्रतिक्रिया