एसियन गेम्स पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

चीनको हाङझाउमा जारी एसियन गेम्समा लगातार दोस्रो हार बेहोर्दै नेपाली राष्ट्रिय भलिबल टोली समूह चरणबाटै बाहिरिएको छ ।

असोज ३, काठमाडौँ । चीनको हाङझाउमा जारी एसियन गेम्समा लगातार दोस्रो हार बेहोर्दै नेपाली राष्ट्रिय भलिबल टोली समूह चरणबाटै बाहिरिएको छ । चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । पहिलो सेट २५–९ ले गुमाएको नेपालले दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१३ ले पराजित हुँदै बाहिरियो । यसअघि मंगलबार भएको समूह ‘बी’को पहिलो खेलमा नेपाल बहराईनसँग ३–१ को सेटमा पराजित भएको थियो ।

पहिलो सेट २५–२० ले आफ्ना पक्षमा पारेको नेपालले त्यसपछिका लगातार तीन सेट गुमाउँदा हार भोग्न बाध्य भयो । नेपालले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१८ तथा चौथो तथा अन्तिम सेट २५–१५ ले गुमाउँदा नेपालले पहिलो हार बेहोरेको हो । कठिन समूहमा रहेको नेपालले पाँचौं पटक एसियाडमा सहभागिता जनाएको हो । नेपालले यसअघि सन् १९७८ मा थाइल्यान्डको बैंककमा भएको आठौं एसियाडमा डेब्यु गरेको थियो ।

प्रतिक्रिया