३ असोज, चौतारा । एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य बेलबहादुर महत सहित १ सय १० जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
बुधबार माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, प्रतिनिधिसभा सदस्यसमेत रहेका माधव सापकोटा ‘सुवोध’ र नेता हिमाल शर्माले टीका र खादासहित नवप्रवेशीलाई स्वागत गरे । नेता महतसँगै समाजवादी, एमाले र काँग्रेस छोडेर १ सय १० जनाले एकैचोटी पार्टी प्रवेश गरेको माओवादी सिन्धुपाल्चोकले जनाएको छ । बुधबार माओवादीमा प्रवेश गरेका महत २०४८ सालदेखि एमालेमा सकृय रहँदै २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० का वडा अध्यक्ष विजयी भएका थिए । उनी एमाले पार्टी टुक्रिएसँगै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहँदै आएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले विचार र सिद्धान्तले माओवादी अझै अरु दलभन्दा अब्बल रहेको बताए । व्यवहारिक पक्षमा केही फितलोपन देखिएकाले माओवादी निर्वाचनको गणितले तेस्रो हुन पुगे पनि जनतालाई अधिकारले सुसज्जीत गर्दै समान, समतामूलक र समावेशी राष्ट्र निर्माणका लागि माओवादीले कहिल्यै कसैसँग सम्झौता नगरेको उनको भनाई थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गदै केन्द्रीय सदस्य एवम् रुपान्तरण अभियान सिन्धुपाल्चोकका संयोजक हिमाल शर्माले पहिला माओवादीसँग जनता रहेको र बीचमा माओवादीहरु जनताबाट टाढा हुँदै गएको महसुस गर्दै अहिले जनतासँग माओवादी रहने उदेश्यका साथ ३ महिने अभियान थालेको बताए । जनताको सुखदुख, प्रगति, निर्माण, विकास र जनताकै एजेण्डाहरु बोकेर जनताकै माझमा रहने गरि आफूहरु प्रतिवद्ध रहेको बताउँदै शर्माले माओवादीकाका कारण आएका उपलव्धीबारे जनतालाई बुझाउन नसक्दा पार्टी सानो भएको उल्लेख गरे ।
केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले नेतामुखी बन्दै गएको पार्टीलाई जनतामुखी पार्टी बनाउने उदेश्य अनुरुपमा विशेष अभियान थालेको बताए । हालसम्मका संपूर्ण उपलव्धी नै गुम्ने खतरा बढेको भन्दै सापकोटाले गणतन्त्रणलाई संस्थागत गर्न र प्राप्त उपलव्धीलाई संस्थागत गर्न माओवादी नै पहिले रुपान्तरण हुनुपर्ने धारणा राखे । ‘पहिले माओवादी रुपान्तरण हुन जरुरी छ र माओवादी रुपान्तरित भएपछि मात्र सिंगो देशलाई रुपान्तरित गरेर लान सकिनेछ’ नेता सापकोटाले भने । त्यसपछि मात्र गणतन्त्रको रक्षा गर्न सकिने उनको भनाई थियो । कार्यक्रम जनतासँग माओवादी रुपान्तरण अभियान अन्तर्गत चौतारास्थित शहीद स्मृति भवनमा भएको हो । जनजनमा माओवादी, मनमनमा माओवादी नाराका साथ गत भदौ १६ गतेबाट सुरु भएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान जिल्ला, पालिका हुँदै वडातहसम्म पुगेको छ ।
जुगलखबरबाट