दोस्रो दिनपनि शिक्षक सडकमा उत्रिएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

सरकारले हालै ल्याएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरुले बुधबार सुरु गरेको आन्दोलन दोस्रो दिन पनि जारी राखेका छन् ।

४ असोज, काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरुले बुधबार सुरु गरेको आन्दोलन दोस्रो दिन पनि जारी राखेका छन् । आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तब्यस्त बनेको छ ।

आज बिहान गृहमन्त्रालयमा भएको वार्ता असफल भएपछि शिक्षकहरु आन्दोलनमै छन् । शिक्षकहरुले माइतीघर मण्डलामा जम्म भई आ आफ्नो जिल्लाको ब्यानर बोकी बानेश्वरसम्म नाराबाजी गरिरहेका छन् । उनीहरुले अरु कुरा जान्दैनौं, शिक्षा विधेयक मान्दैनौ लगायतका नाराहरु लगाइरहेका छन् ।

‘आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाएर सामुदायिक विद्यालय बन्द गरी आन्दोलन गर्न आएको’ भन्ने जस्ता आलोचनाहरु खेपिरहेका उनीहरु माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताउँछन् ।
‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति’ को ब्यानरमा आन्दोलित उनीहरु देशभरका सामुदायिक विद्यालयका शिक्षक (स्थाइ, अस्थाइ, राहत),कर्मचारी हुन् ।

शिक्षकहरु झोला बोकेर काठमाडौं लागेपछि दुई दिनदेखि देशभरका विद्यार्थीहरु पठनपाठनबाट बञ्चित भएका हुन् ।

प्रतिक्रिया