दिगो बिकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षिय बैठक बोलाउनुपर्छ :अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो बिकास लक्ष्यका बारेमा छलफलका लागि सरकारले सर्वपक्षिय छलफल आयोजना गर्न सुझाब दिएका छन् ।

५ असोज, काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो बिकास लक्ष्यका बारेमा छलफलका लागि सरकारले सर्वपक्षिय छलफल आयोजना गर्न सुझाब दिएका छन् ।
राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको दिगो विकास लक्ष्य सम्बन्धी बहुपक्षीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले दिगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय रुपमा ऐक्यबद्धताका लागि सरकारले सर्वपक्षिय बैठक र छलफल आयोजना गर्नुपर्ने सुझाब दिएका हुन् ।
उनले दिगो बिकास लक्ष्य प्राप्त गर्न तीनै तहका सरकार र सरोकारवालाहरु सम्मिलित बैठकबाट कार्यान्वयनको अनुगमन गर्ने काम संघीय सरकारले गर्नुपर्छ भने । ‘दिगो बिकासको लक्ष्य भेटाउन मुस्किल छैन, त्यसका लागि इच्छाशक्ति चाहिन्छ’, अध्यक्ष तिमिल्सिनाले भने ‘यसको नेतृत्व संघीय सरकारले गर्नुपर्छ र तीन वटै तहबाट भैरहेका कार्यहरुको नियमित अपडेट राख्दै अघि बढ्नुपर्छ।’ जिल्लास्तरमा स्थानिय सरकारबाट भएका कामहरुको अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई दिनु पर्ने उनको सुझाव छ ।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दिगो विकास लक्ष्यमा नेपाल विश्वका अन्य मुलुक भन्दा अगाडी रहेको चर्चा गर्दै अझै लक्ष्य अनुसार अघि बढ्न सबै सरोकारवालाले ध्यान दिनुपर्छ भन्नुभयो ।
दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुबेदी, संघीय संसदका सचिब डा. रोजनाथ पाण्डे र राष्ट्रिय योजना आयोगका सहसचिब महेश भट्टराईले अवधारणापत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया