प्रधानमन्त्री प्रचण्ड र चिनका राष्ट्रपति सि बिच भेटवार्ता : फोटो फिचर

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका महामहिम राष्ट्रपति सि जिनपिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ।

६ असोज, चिन । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सि जिनपिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ।

चीनको साताब्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डर राष्ट्रपति सिबीच द्विपक्षीय हितका विविध विषयमा खुल्ला र स्पष्टरुपमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र सम्बृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति ररहेको थियो । यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ । यस्तैगरी राष्ट्रपति सिले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो वार्ता भएको थियो । राष्ट्रपति सि जिनपिङले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशको कुनै भेदविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सिले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका छन् । उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिवद्धता व्यवहारवाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गरेका छन् । चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्रीको थियो ।
राष्ट्रपति सिले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरुको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एशियाबाट पहिलो नेताकारुपमा चीनमा स्वागत गरेको स्मरण गरे । उनले यस किसिमका छलफलले दुई देशबीचका सम्न्धब र विश्वासलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि ‌प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।

प्रतिक्रिया